बाल गायक सचिन परिवार यस संसारबाट बिलाए

काठमाडौं । भाइरल बालगायक सचिन परियार, जसले आफ्नो१३/१४ वर्षको बाल्यकालमै असाधारण प्रतिभा प्रस्तुत गरेर लाखौँ नेपालीको मन जितेका थिए, आज तिनी यो संसारमा छैनन् । आफ्नो गायन र मिठो र फरक लवजमा बोल्ने शैलीमार्फत सामाजिक सञ्जालमा धेरैको मन जितेका थिए । तर, १३ औँ वसन्तको अल्पायुमा भनौँ बाल्यकालमै तिनको जीवनको पर्दा खस्यो ।बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा उनले अन्तिम सास फेरे । रोगले थलिएका सचिन पटक–पटक अस्पताल भर्ना हुने गर्थे ।
आर्थिक अभावका कारण उनको उपचार कहिल्यै पूर्ण र प्रभावकारी हुन सकेन । पैसा नभएपछि उनलाई अस्पतालबाट घर फर्काउनाको विकल्प थिएन । उनको टाउकामा पानी जमेको र अपरेसन गरिएको जनाइएको छ ।

दुई वर्षदेखि उनको स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा चर्चा हुँदै आएको थियो, जतिबेला उनी भाइरलकै शिखरमा थिए । उनका बुवा तेजेन्द्र परियारले छोराको उपचार खर्च भन्दै सामाजिक सञ्जालमार्फत् सहयोग पनि जम्मा गरेका थिए ।

देशविदेशबाट तिनको उपचारको लागि रकम नउठेको होइन ।
सचिनको उमेर अनुसार शारीरिक वृद्धि थिएन । कारण, गम्भीर रोगको सिकार थिए । मस्तिष्कमा पानी जम्ने समस्या थियो । चिकित्सकका अनुसार उनलाई डाइबिटिज इन्सिपिडसको भएको थियो । त्यो भनेको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गथ्र्यो ।

तिनलाई ६ महिनाअघि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । उपचार गराउँदा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो ।

तर, उपचार खर्चको अभावमा पूर्ण निको नहुँदै घर फर्काइयो । अहिले सोही समस्याकै उपचार भइरहेकै समयमा तिनलाई बचाउन सकिएन । किनकि निकै ढिलो अस्पताल लगियो ।

यदि तिनको नाममा उठेको सहयोग सही सदुपयोग भएर समयमै उपचार पाएको भए सायद तिनी बाँच्न सक्ने चिकित्सकहरू बताउँछन् ।

भाइरलको सुरुआत
सचिनको जीवनको कथा गुल्मीको एक सानो गाउँबाट सुरु भयो । एक विपन्न दलित परिवारका थिए, उनी । बाबुको किचकिचका कारण आमाले घर छाडेर हिँडेकी थिइन् ।

आमाको माया नपाएका सचिनको बाल्यकाल नै दुःखले भरिएको थियो । बाबु तेजेन्द्र दैनिक ज्यालादारी गरेर परिवार पाल्थे । सचिन बाटोबाटोमा गीत गाउँदै पैसा माग्थे ।

विसं २०७७ तिर ८–९ वर्षका हुँदा सचिनले गाउँको बाटोमा गाएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । उनको मिठो स्वर र बोल्ने शैलीले युट्युब र टिकटकमा धमाल मच्चायो ।

उनका ‘के छ हजुर रु ठिक छ हजुर १’ भन्ने डायलग र गीतका टुक्काहरू टिकटकमा ट्रेन्ड बने । सामाजिक सञ्जालको बढ्दो लोकप्रियतामा सचिनको गायन प्रतिभा फक्रँदै गयो ।

उनका बोलेका संवादहरू सोसल मिडियामा छिट्टै चर्चामा आए । फेसबुकको रील्सदेखि टिकटकमा मानिसहरूले उनको शैलीमा संवाद दोहोर्‍याउँदै भिडिओ बनाउन थाले । गीत सङ्गीतका भिडिओ अभिनयदेखि टेलिशृंखलामा अभिनय गर्ने अवसर पाए ।

महानायक राजेश हमालसँग अभिनयसमेत गर्ने अवसर पाए । बाल गायिका कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वर रहेको ‘वरको छायाँले’ बोलको गीतमा सचिनले हमालसँग अभिनय गरेका छन् ।

‘ओठ खोलेर’ बोलको गीतको म्युजिक भिडिओमा सचिनको स्वर र अभिनय छ । जुन गीत झन्डै २ करोड पटक हेरिएको छ । सचिनको थेगो ‘के छ र हजुर रु’ भन्ने गीत नै बन्यो । जहाँ उनले चल्तीकी गायिका अस्मिता अधिकारीसँग स्वर मिसाउने मौका पाए ।

सचिन भाइरल र चर्चित बन्दै जाँदा प्रतिभाको फाइदा उठाउने होड चल्यो । युट्युबर र सङ्गीत निर्माताहरूले उनको प्रतिभा प्रयोग गरेर लाखौँ कमाए । उनलाई अभिनय गराएर धेरैले लाखौँ डलर कमाए ।

सचिनलाई महोत्सव लगेर बिचौलियाले पैसा कुम्ल्याउँथ्यो । उनलाई खाली हात फर्काइन्थ्यो । युट्युबमा लाइभ दोहोरीमा पनि भ्यूज बटुल्ने साधन मात्र बनाइयो ।

सामाजिक सञ्जालमा भाइरल हुँदाताका कतिपयले सचिनप्रति अनावश्यक दबाब सिर्जना गरेर दुरुपयोग गरेको भन्दै आलोचना समेत हुन्थ्यो ।

उनका बुवा स्वयंले बिरामी सचिनमाथि व्यापक श्रम शोषण गरेको आरोप लागेको थियो । भाइरल सचिनको नाम बेचेर बुबा तेजेन्द्रले पैसा उठाउँथे । रात्रिक्लब र दोहोरीमा गएर पैसा उडाउँथे, ती भिडिओहरू अहिले पनि सामाजिक सञ्जालमा देखिन्छ ।

सचिनको रोगी शरीरले धान्दा नधान्दै कहिले दोहोरीमा पुर्‍याइयो, कहिले कहाँ । हुँदा हुँदा झाँक्रीकहाँ लगेर उपचार गरेको भिडिओ भाइरल गराएर युट्युबरले डलर कमाए ।

बाँचुन्जेल उनी नाचेको, हाँसेको, रोएको, बिरामी भएको, बाटोमा मागेर हिँडेको विषयलाई ‘भाइरल कन्टेन्ट’ बनाइयो, डलर कमाउनकै लागि ।

सचिन भाइरल हुँदा उनको कलालाई युट्युबर र गीत निर्माताहरूले खुबै प्रयोग गरे । उनका गीत र अन्तर्वार्ताले युट्युबरलाई लाखौँ भ्यूज र डलर दिलायो ।

नाम र दाम कमाउने ती सबैका लागि सचिन मात्र एउटा साधन बने । तर, जब उनी गम्भीर बिरामी भएर थलिए, उनलाई उपचारका लागि केही हजार रुपैयाँसम्म कसैले दिएन ।

अबोध बालक सचिनलाई भाइरल बनाउने समाजले थकान र पीडा मात्र दियो । उनको शरीर र सपनाहरू भाइरलको रूपमा दुरुपयोग गरेर चुकाइयो ।

बाल प्रतिभाको बली, दुःखान्त गाथा १
सचिन भाइरल भएपछि पढ्नबाट वञ्चित भए । उनको प्रतिभा दुरुपयोगमै समय खर्चियो । ‘मलाई पढ्न पनि मन छ, गाउन पनि मन छ । तर, मलाई बिरामी हुँदा पनि गाउन लगाउनुहुन्छ’ एक अन्तर्वार्तामा सचिनले भनेका थिए ।

तर उनको यो पीडा कसैले सुनेन । समयसँगै नयाँनयाँ भाइरल मानिसहरू थपिँदै गए । सचिन भने बिस्तारै छायामा पर्न थाले । थोरै हात परिरहेको उनको कमाइ पनि बन्द भयो ।

बाबु तेजेन्द्रले छोराको नाममा जम्मा भएको सहयोग रकम आफ्नै विलासिताका लागि प्रयोग गर्न छाडेनन् । अभिभावकको यस्तो गैर जिम्मेवारीले सचिनप्रतिको सहयोग र सहानुभूति घट्दै गयो ।

फलतः जीवनयापन गर्न सचिनलाई भीख मागेर ज्यान पाल्नुपर्ने बाध्यता समेत आयो । वर्ष दिनअघि काठमाडौं बानियाँटारस्थित महादेव खोलानजिक पैसा र खानेकुरा माग्दै हिँडेको भेटिए । त्यो भिडिओ भाइरल भयो ।

भिडिओ देख्नेहरूलेउनलाई गाली गरे । उनको मागेको भिडिओमा ‘नाटकबाज’, ‘बाउजस्तै छोरो’ जस्ता अपमानजनक शब्दहरूले कमेन्ट लेख्दै खिल्ली उडाइयो । उनीप्रति दया भाव साटिएन ।

भाइरलको चमक पछाडि अन्धकार
भाइरल बनाउन खप्पिस समाजले सचिनलाई चाँडै चर्चामा ल्यायो । तर जब उनको स्वास्थ्य बिग्रियो सहयोग गर्नेहरूको कमी देखियो । सुरुसुरुमा त राम्रै उपचार रकम संकलन भए ।

तर चन्दा रकम दुरुपयोग भएपछि उनलाई सहयोग गर्नेहरू घट्दै गए । उपचारका लागि सङ्कलित रकमको अपारदर्शिता कै कारण सचिनलाई सहयोग गर्नेहरू घट्दै गए । अर्कोतर्फ सचिनको बुवा तेजेन्द्र परियारको गैर जिम्मेवारीपनले पनि उनीप्रति सहयोग र आस्था घटाउँदै लग्यो ।

पढ्ने र खेल्ने उमेरमा सचिनले भोक, अपमान र पीडा सहनुपर्‍यो । बिरामी अवस्थामा समेत कार्यक्रममा गाउन बाध्य बनाइयो । कहिले माग्न जानुपर्‍यो, कहिले अपमान सहनुपर्‍यो । तनाव र पीडाले ग्रसित जीवन बिताउनुपर्‍यो ।

सयौँ युट्युबहरूले सचिनलाई केवल ‘कन्टेन्ट’का रूपमा प्रयोग गरे । उनका गीत र अभिव्यक्ति अन्तरवार्ताबाट लाखौँ डलर कमाउने उनीहरूले उपचारमा एक रुपैयाँ पनि सहयोग गरेनन् ।

उल्टै उनकै नाम बेचेर चन्दा उठाएर खाए । जब सचिन संसार छोड्न बाध्य भए, तिनै युट्युबरहरू अस्पतालदेखि आर्यघाटसम्म ‘लाइभ’ गरेर डलर कमाउनमै मस्त देखिए । सचिनको मृत्युमा पनि उनीहरूले केवल ‘कन्टेन्ट’ र ‘डलर’ देखे ।

सचिनले छोटो उमेरमै मरेर गए, प्रश्न सँगै छोडेर गए – ‘ अबोधहरूलाई भाइरल बनाएर पैसा कमाउने र त्यसपछि उसलाई मर्न बाध्य बनाउने क्रम कहिलेसम्म चलिरहने हो ?’
-श्यामसुन्दर पुडासैनी