प्रा.डा. जगदीश चन्द्र भण्डारी सहित माक्सवादी लेखक रामराज रेग्मी र काजी रोशनलाई तीन फरक फरक साहित्यिक पुरस्कारले सम्मान गर्ने भएको छ । भन्डारीलाई‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’का अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा २०७५ सालमा स्थापित ‘विश्वराधानेत्रा साहित्य पुरस्कार २०८१’ ले सम्मानबाट गरिने भएको हो । भन्डारी गत चालीस दशकदेखि निरन्तर प्रगतिवादी साहित्य लेखनमा क्रियाशील रहेर कलम चलाउँदै आएका छन् ।
त्यस्तै, प्रतिष्ठानले पोखरामा जन्मेर संस्कृति तथा दर्शनका क्षेत्रमा साधनारत रामराज रेग्मीलाई ‘ज्याग्दीखोला साहित्य सम्मान – २०८१’ द्वारा सम्मान गर्ने भएको छ । त्यसैगरी, प्रतिष्ठानले साहित्य, सङ्गीत तथा कलामा साधना गरी विशिष्ट योगदान पुर्याउने स्रष्टाको सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष ‘ज्याग्दीखोला साहित्य-कला पुरस्कार’ प्रदान गर्दै आएको छ । यस वर्ष उक्त पुरस्कारद्वारा बाग्लुङका साहित्यकार काजी रोशनलाई सम्मान गर्ने भएको छ ।
उल्लिखित तीनवटै पुरस्कार तथा सम्मानका लागि प्रतिभा चयन गर्न प्रतिष्ठानले संस्थाका सहसचिव प्राज्ञ नारायण मरासिनीको संयोजकत्वमा सल्लाहकार टीकाराम वाग्ले र साहित्यकार भीम रानाभाट रहेको तीन सदस्यीय प्रतिभा छनोट समिति समेत गठन गरिएको थियो । मुलबाटोमा पनि समाचार प्रकाशित छ ।
