गम्भीर समुन्द्र सेतुको ७१ औँ वाषिर्कोत्सव सम्पन्न

महालक्ष्मी नगरपालिका-२ मा रहेको गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयको  ७१ औँ वार्षिक उत्सव कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । महालक्ष्मी  नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा गत शुक्रबार विद्यालय प्राङ्गणमा  विद्यालयको वाषिर्कोत्सव कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।

नगरपालिकाका उपमेयर लक्ष्मी महर्जन र नगरपालिकाका प्रमुख शिक्षा अधिकृत चीरञ्जीवी पौडेलको समेत कार्यक्रममा विशेष आतिथ्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति केदार कुमार केसीले जानकारी दिए । नगरपालिकाका १० वटै वडाध्यक्षलाई पनि कार्यक्रममा निम्तो गरिएको उनले बताए । राष्ट्रियगान बजाएर कार्यक्रमको प्रारम्भ भएकाे त्यसपछि महालक्ष्मीगान पनि गाइएको उनले बताए । कक्षा ११ र १२ सम्म पढाइ हुने सो माध्यमिक विद्यालयको भौतिक पूर्वाधार महालक्ष्मी नगरकै उत्कृष्टतामा रहेको केही अतिथि वक्ताहरुको भनाइ थियो।शिक्षक अभिभावक संघका अध्यक्ष हरिहर बहादुर अधिकारीले ०७९/०८० को सामाजिक प्रतिवेदन सहित आफ्नो मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक देवेन्द्र महर्जनले विद्यालयको ५ करोड रासीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै, विद्यालयको स्मारिका अंक समेत विमोचन भएको सो कार्यक्रममा विद्यालयको विकासमा सहयोग पुर्याउने आनन्द अधिकारी र बसन्त सुबेदीलाई सम्मान गरिएको थियो । वर्षभरिमा विद्यालय क्यालेन्डर अनुसार गरिएका अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेलहरुमा बिजेता उपबिजेतालाई नगरपालिकाका  मेयर हरिगोविन्द श्रेष्ठको हातबाट  पुरस्कार वितरण गरिएको प्रधानाध्यापक देवेन्द्र महर्जनले बताउनुभयो ।

अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेलहरुमा राष्ट्रपति रनिङ शिल्ड,हाइजम्प,लङजम्प,१ सय देखि ३ हजार मिटर दौड लगायत रहेको महर्जनले बताउनुभयो । कार्यक्रममा अतिथिको रुपमा अक्षयकोषका संस्थापकहरु अर्जुन सुवेदी,गीता गौतम, सुशिल गौतम,सुन्दर वाइ केसी र राइट टु स्टडी नेपालका अध्यक्ष पूर्ण डंगोल रहनुभएको थियो ।