हाम्रो उद्देश्य नक्सामा सही जानकारी उपलब्ध गराउनु हो र हामी यस विषयमा समीक्षा गरिरहेका छौँ:गुगल प्रवक्ता


गुगलले नक्सा अपडेट नगरेको र यही लापरवाहीका कारण फिलिपले ज्यान गुमाएको उनीहरुको भनाइ छ । फिलिपको सन् २०२२ मा उत्तरी क्यारोलिनाको हिकोरीमा भत्किएको पुलमा गाडी चलाउँदा त्यहाँबाट खसेर मृत्यु भयो।

गुगलका प्रवक्ताले कम्पनीले पीडित परिवारको आरोपमाथि अनुसन्धान गरिरहेको बताएका छन् । यता परिवारले अहिले गुगलविरुद्ध मुद्दा नै हालेको छ । यस विषयमा सेप्टेम्बर १९ मा वेक काउन्टी सिभिल अदालतमा मुद्दा दायर गरिएको थियो ।

फिलिपका दुई छोरी छन्। छोरीको ९ औं जन्मदिनको पार्टीका लागि उनले साथीको घरबाट कार लिएर गएको र त्यस क्षेत्रसँग परिचित नभएकाले गुगल म्यापको सहारा लिएको परिवारको भनाइ छ ।

परिवारका वकिलका अनुसार अँध्यारो र वर्षाबीच सावधानीपूर्वक सवारी चलाउँदा उनले गुगल म्यापको नक्साबमोजिम निर्देशन पालना गर्दै पुरानो पुलमा गाडी लगेका थिए तर गाडी त्यहाँबाट तल खसेको थियो । पुल सन् २०१३ सालमा नै भाँचिएको वकिलको भनाइ छ । त्यसपछि स्थानीयले अनलाइन नक्सा परिवर्तनका लागि गुगलमा पटकपटक सम्पर्क गरे पनि हुन सकेको थिएन ।

गुगलका प्रवक्ताले समाचार एजेन्सी एपी न्युजलाई भने, ‘प्याक्सन परिवारप्रति हाम्रो गहिरो समवेदना छ। हाम्रो उद्देश्य नक्सामा सही जानकारी उपलब्ध गराउनु हो र हामी यस विषयमा समीक्षा गरिरहेका छौँ।’