दामोदरदास मोदीले गरेको गतिविधिमाथि प्रश्न:राष्ट्रवादी मोर्चा

असोज २५ गते बिहान ८:३० बजेदेखि नेपालको अभिन्न भूभाग दार्चुला जिल्लाका जोलिङकाङ र गुन्जीमा इन्डियाली प्रधानमन्त्री दामोदरदास मोदी उपस्थित भएर धार्मिक र राजनीतिक गतिविधि गरेको विषयमा ग्रेटर नेपालले प्रश्न गरेको छ ।दामोदरदास मोदीले नेपालको र नेपाली नागरिकहरूका मनमस्तिष्कमा अनेक प्रश्नहरू उब्जिएको भन्ने आरोप सो मोर्चाले गरेको छ ।राष्टरवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालीद्वारा जारी विषय पत्रमा भनिएको छ ती प्रश्नहरूको उत्तर दिनुपर्ने नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री कसरी मुखर बन्नुहुन्छ , नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन् ।

यस्तो छ पत्रको ढाँचा:-

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौँ

विषय : नेपालको भूभागमा इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको भ्रमण कसरी सम्भव भयो ?

प्रधानमन्त्रीज्यू ,
यही असोज महिनाको २५ गते बिहान ८:३० बजेदेखि नेपालको अभिन्न भूभाग दार्चुला जिल्लाका जोलिङकाङ र गुन्जीमा इन्डियाली प्रधानमन्त्री दामोदरदास मोदी उपस्थित भएर धार्मिक र राजनीतिक गतिविधि गरेको पुष्टि भएपछि नेपाली नागरिकहरूका मनमस्तिष्कमा अनेक प्रश्नहरू उब्जिएका छन् । ती प्रश्नहरूको उत्तर दिनुपर्ने नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री कसरी मुखर बन्नुहुन्छ , नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन् ।
१• यही असोज महिनाको २५ गते बिहान नेपालको अभिन्न भूभाग जोलिङकाङ र गुन्जीमा भ्रमण गर्न इन्डियाली प्रधानमन्त्रीलाई नेपालको कुन निकायले अनुमति दिएको हो ?
२• इन्डियाली प्रधानमन्त्री नेपाली भूभागमा दलबलसहित जाने आधिकारिक सूचना इन्डियाली सरकारले सार्वजनिक गरेपछि त्यसलाई रोक्न नेपाल सरकारले के-कस्ता प्रयास गर्‍यो ?
३• लिम्पियाधुरासम्मको भूमि समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई तत्कालीन संसद्बाट सर्वसम्मत रूपमा पारित गरेपछि कालापानीबाट इन्डियाली सेना फिर्ता गर्न इन्डियाली सरकारसँग किन कुनै किसिमको संवाद भएन ?
४• कालापानी क्षेत्रमा इन्डियाले सैन्य संरचना विस्तार गर्दा र नेपाली भूभागमा सडक निर्माण गरेको देख्दा के कति कारणले यसलाई रोक्ने प्रयास भएन ?
५• यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने झिनो प्रयास पनि गरिएको देखिएन, किन ?
६• अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई औपचारिक रूपमा किन बुझाइएन ?
७• बैसठ्ठी वर्षदेखि निरन्तर थाती रहेको कालापानी क्षेत्रको समस्या समाधान हुन अब अझै कति समय लाग्छ ?
८• काली नदीको उद्गम पत्ता लगाउन अन्तर्राष्ट्रिय जलस्रोतविज्ञको सहायता लिने प्रयास अहिलेसम्म किन गरिएन ?
९• अद्यावधिक गरिएको नक्साअनुसार नेपालको क्षेत्रफल कति हो र किन सार्वजनिक गरिएन ?
१० • समष्टिमा नेपाली राष्ट्रियताको आधारबिन्दु के हो ?

माथिका यी प्रश्नहरूको उत्तर दिनुपर्ने नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री कसरी मुखर बन्नुहुन्छ , नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन् ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ , नेपाल

बोधार्थ:
तत्कालीन प्रम खड्गप्रसाद ओली
तत्कालीन प्रम झलनाथ खनाल,
तत्कालीन प्रम बाबुराम भट्टराई,
तत्कालीन प्रम माधवकुमार नेपाल,
तत्कालीन प्रम शेरबहादुर देउवा