धनतेरस कथा पृष्ठभूमि

धन्वन्तरी जयन्ती (धनतेरस) को कथा :

मारकण्डेय पुराणमा एउटा कथा छ गालब ऋषिको । एकदिन उनी जङ्गलमा खुब प्यास लागेर पानी खोज्दै थिए । त्यसैबेला एउटी सुन्दरी पानीले भरिएको घडा लिएर आउँदै थिइन् । ऋषिले पानी पिउन मागे । सुन्दरीले दिन थालिन् र ऋषिले पूरै घडा रित्याइदिए । प्यास मेटिएर प्रसन्न भएका ऋषिले ती युवतीलाई आशीर्वाद दिए “योग्य पुत्रकी माता बन्नु” । युवतीले हाँस्दै भनिन् “मेरो नाम वीरभद्रा हो, म नगरबधु हुँ । म अविबाहित छु । कसरी पुत्र हुन्छ र ?” ऋषि गालबले वीरभद्रालाई आफ्नो आश्रममा लगे र वेदमन्त्रले उनको अभिमन्त्रणा गरे । र, भने “ जुन पुत्र जन्मिन्छ उसको नाम धन्वन्तरी राख्नु, वेदले मन्त्रिएको हुनाले त्यो पुत्र वैद्य हुन्छ र देवासुर संग्राममा देवताहरुको उपचार गर्छ” ।
कार्त्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरीको जन्म भयो ।

एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए । विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् । विवाहको ठिक चार दिनका दिन उनले आफ्न पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफू स्वयं सँगै बसेर पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँदै आफ्नो लोग्नेलाई निद्रा नआओस् भनेर भुल्याउन थालिन् । रात्रीकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु पर्यो । बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठामिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए । ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो । यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् । यसै घटना पछि मानिसहरूले आफ्नो घरका सद्स्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ । यस कर्मको प्रतीकात्मक अर्थ हो- पारिवारिक सुख र सुस्वास्थ्य । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ । धनतेरस भनिने कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ। हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ।

अचम्म त के छ भने ‘धनतेरस’ मा बेच्न भनेर सुन र चाँदीका मेडलियन सिक्का तयार गरिन्रछ । सूचना नै गरेर राष्ट्र बैंकले सूचना बेच्छ ! सम्पत्ति जोड्नु जहिल्यै राम्रो हो । कुचो,सुन,चाँदि भाँडाकुँडा आदि सकिनसकि किनेर संस्कार संस्कृति जोगाइराख्ने नामाकरण के ठिक के बेठिक त्यो जिम्मेवार व्यक्ति आफैले बुझ्नुपर्छ।