रामेछापको सदरमुकाम मन्थली पुगेका पर्यटक नियमित उडान अभावले अलपत्र परेका छन् । उनीहरू अलपत्र परेपछि
नेपाली सेनाको जहाजबाट उद्धार गरिने भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले मन्थलीमा रोकिएका पर्यटकको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।आफ्ना सदस्य कम्पनीसँग आग्रह गरेपछि उनीहरूलाई नेपाली सेनाको जहाजबाट मन्थली–लुक्ला–मन्थली वा काठमाडौं–लुक्ला–काठमाडौं रुटमा स–शुल्क उडान गर्ने गरी सेनासँग समन्वय गरिएको टानले जनाएको छ । ‘फस्ट कम फस्ट सर्भ’ सिद्धान्त अनुसार ट्रेकिङ एजेन्सीबाट प्राप्त हुने लिस्ट बमोजिम पर्यटकलाई प्राथमिकता साथ उडाइने र नेपाली सेनासँगको परामर्शपछि उडान समय र शुल्क तोकिने समेत टानले जनाएको छ ।लुक्लाका लागि मन्थली एयरपोर्ट पर्यटकीय गन्तव्य बन्न थालेको छ ।
नागरिक उड्ययन कार्यालय रामेछापका प्रमुख हिरोणकुमार शाह खराब मौसमका कारण रोकिएको अवस्थाबाहेक अनुकूल मौसममा करिब ५५ वटासम्म उडान हुने गरेको बताउँछन् । हाल केही दिनदेखि मौसममा खराबी हुँदा धेरै पर्यटक मन्थलीमै रोकिएका उनले बताए ।
पर्यटक सहयोगी चन्द्रबहादुर लामिछानेले क्षमताभन्दा बढी पर्यटक मन्थलीमै रोकिदा आवासीय सुविधाका लागि अन्यन्तै कठिनाइ भइरहेको बताए । आफ्नो यात्रासूची बिग्रने भन्दै कोही हेलिकप्टरमार्फत त कोही सडक मार्गमार्फत लुक्लातर्फ लागे पनि अर्को दिन उडान तालिका भएका करिब पाँच यसभन्दा बढी पर्यटक पुनःमन्थली भित्रने गर्दा यहाँ पर्यटकको चाप अत्यधिक हुन थालेको उनको भनाइ छ ।
रामेछापमा भएका करिब ५० वटा होटलमा एक हजार जनासम्मलाई मात्र आवासीय सुविधा दिन सक्ने क्षमता छ तर जहाज नचलेपछि मन्थली बस्ने पर्यटकको सङ्ख्या एक हजार तीन सयभन्दा बढी रहेको पर्यटन व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष श्रेष्ठले बताए ।
मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले पटकपटक मौसममा खराबी आउँदा पर्यटक रोकिने र यहाँ पर्याप्त होटल सुविधा नपुग्ने भएकाले नगरपालिका यसतर्फ सचेत रहेको बताए । “जिल्लामा भित्रिएका पर्यटक नठगिउन् र सहज ढङ्गबाट आवासीय सुविधासमेत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले विमानस्थल परिसरमा यात्रु सहायता कक्ष र होमस्टे सञ्चालनका लागि तालिम तथा आवश्यक सामान उपलब्ध गराएको छ ।
