प्रधानमन्त्री पुष्पकमल दाहालले लिन सकेनन् विश्वासको मत, राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीको मागदाबी आह्वान,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले ७२ घन्टे समयसीमा तोकेर प्रधानमन्त्री लागि माग दाबी गर्न दलहरुलाई आग्रह गरेकी छिन् । यससँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा दावी पेस गर्न राष्ट्रपतिसमक्ष पुगेका छन् । ओलीले आफ्नो पार्टी एमाले र कांग्रेसका सांसदको समर्थनमा प्रधानमन्त्री पदमा दाबी पेस गरेको जनाएको हो ।
दावी पेस गर्दा उनले १६६ सांसदको समर्थन जुटाएर राष्ट्रपतिसमक्ष पत्र बुझाएका थिए । ओलीले कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन रहेकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष पत्र बुझाएका हुन् ।
सत्ता यात्रामा मसिना दलहरु जसपा, जनमत, लोसपा, जसपा नेपाललगायतका दल साथ दिन सकारात्मक रहेका छन् ।यस अघि नै काँग्रेस एमालेको नयाँ समीकरण बनिसकेको हल्ला सामाजिक सञ्जालमा भाइरल बनेको थियो । राष्ट्रपतिले संविधान अनुसार नयाँ प्रधानमन्त्री छनोट गर्ने समय सीमा आइतबार सम्म तोकेकी छिन् । प्रधानमन्त्री छनोट नहुन्जेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै कार्यभार संचालन गर्नेछन् । प्रधानमन्त्री रहँदा प्रचन्डले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा ६३ मत आएको थियो भने विपक्षमा १९४ मत आएको थियो। त्यस्तै तटस्थमा १ मत परेको थियो । शुक्रबार संसदमा २५८ जना सांसद उपस्थिति थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वास प्राप्त गर्नका लागि १३८ मत चाहिनेमा प्रचण्डले त्यो भन्दा कम मत पाएपछि उनी स्वत: पदमुक्त भएका हुन् ।
प्रचण्डले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा पाँचौं पटक संसदबाट शुक्रबार विश्वासको मत माग्नु परेको थियो । यसअघि ४ पटक विश्वासको मत पाएका उनी पाँचौ पटकमा भने विश्वासको मत पाउन असफल भए ।यससँगै उनी बालुवाटार छाडेर निजी निवास खुमबहादुर लाग्ने जनाएको छ।