काठमाडौं उपत्यकामा प्रदुषण बढेकाले घरबाट बाहिर कम निस्कन चिकित्सकको सुझाव

प्रदूषण बढेको समयमा घरबाट सकेसम्म ननिस्किने वा मास्क लगाएर मात्रै निस्कन चिकित्सकको सुझाब छ । तर, मास्कको प्रयोगले मात्रै जोखिमबाट बच्न नसकिने भएकाले प्रदूषण नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाइ छ । हावामा ७८ प्रतिशत नाइट्रोजन र २१ प्रतिशत अक्सिजन हुनुपर्छ, जुन मानव स्वास्थ्यका लागि स्वस्थ मानिन्छ । यसबाहेक, प्रायः आर्गन (०.९ प्रतिशत), ट्रेस, कार्बनडाइअक्साइड, मिथेन, हाइड्रोजन, हेलियम र अन्य ग्यासहरू हुनुपर्छ । यस्तै, हावामा पानीको आद्रता पनि हुन आवश्यक मानिन्छ । तर, हावामा धुलो–धुवाँसँगै कार्बनमोनो अक्साइड, नाइट्रोजन अक्साइड, सल्फरडाई अक्साइड, ओजोन, पार्टिकुलर म्याटर, लिड आदि थुप्रिँदा स्वास्थ्यका लागि घातक हुन्छ ।

बिहीबार सबैभन्दा बढी पानी धनकुटामा ३१.४ मिमि, खोटाङको ऐँसेलुखर्कमा २६.८ मिमि, सिन्धुपाल्चोकमा २१ मिमि र मकवानपुरमा २०.२ मिमि परेको छ । नासाले भूउग्रहबाट लिएको डढेलोको तस्बिर हेर्दा पूर्वभन्दा मध्य र पश्चिम क्षेत्रमा डढेलोका घटना बढी देखिन्छन् । बुधबारसम्म भने हिमाली भेगबाहेक देशभरका वनमा डढेलो देखिन्थ्यो । बिहीबार तराई, मधेसका वनजंगलमा अझ बढी डढेलो सल्किएको देखिन्छ ।

वर्षाले डढेलो निभाउने भए पनि तराई क्षेत्रमा भने तत्काल सम्भावना देखिँदैन । मौसमविद् झाका अनुसार शुक्रबार कोशी, गण्डकी र बागमतीका पहाडी क्षेत्रमा बादलसँगै हल्का वर्षाको सम्भावना छ । ‘काठमाडौंमा बिहीबारभन्दा मौसममा सुधार हुन्छ, अपराह्नपछि हल्का वर्षाको सम्भावना पनि छ,’ झाले भने ।

प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ
बढ्दो वायु प्रदूषणले मानव शरीरमा गम्भीर असर पारिरहेको चिकित्सकले बताएका छन् । श्वासप्रश्वासका कारण दूषित हावा शरीरमा प्रवेश गरी अल्पकालीन र दीर्घकालीन असर पुर्‍यारहेको छ । वायु प्रदूषण बढ्दा घातक ग्यासका कण शरीरमा प्रवेश गर्ने भएकाले श्वासनलीमा संक्रमण, फोक्सोमा क्यान्सरलगायतको जोखिम बढिरहेको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुग्नेको संख्या पनि केही दिनयता बढिरहेको छ ।

छाती रोग विशेषज्ञ डा. नीरज बमका अनुसार पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएकाहरूमा वायु प्रदूषणको सीधा असर पर्छ । उनीहरूमा दम बढ्ने, क्षयरोग भएका व्यक्तिमा खोकी बढ्ने, खकारमा रगत देखिने, ब्रोंकाइटिस भएका व्यक्तिमा गम्भीर लक्षण देखिने हुन्छ । यसबाहेक मधुमेह, रक्तचाप, फोक्सोमा संक्रमण, गर्भाधानमा समस्याजस्ता समस्या पनि बढाइरहेको छ । प्रदूषण अत्यधिक भएको क्षेत्रमा बसोवास गर्दा श्वासनलीमा समस्या देखिने, घाँटी दुख्ने वा खसखसाउने, रुघाखोकी लाग्ने, भाइरस संक्रमण बढाउने जोखिम हुन्छ । प्रदूषणको मात्रा बढ्दै जाँदा छाला चिलाउने, आँखा चिलाउने वा रातो हुने समस्या समेत देखिन्छन् ।