वित्तिय संघीयता र जैविक विविधता संरक्षण सम्वन्धि परियोजनाका लागि अमेरिकी सरकारबाट सहयोग गरिदै आएको अनुदान रकम रद्द

नेपालमा वित्तिय संघीयता र जैविक विविधता संरक्षण सम्वन्धि परियोजनाका लागि अमेरिकी सरकारबाट सहयोग गरिदै आएको निर्धारित ४ करोड अमेरिकी डलर बराबरको अनुदान रकम रद्द भएको छ । अमेरिकी सरकारी दक्षता विभाग डजले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा वित्तिय संघीयता र जैविक विविधता संरक्षण शीर्षकको परियोजनामा गरी तीन करोड ९० लाख अमेरिकी डलरको अनुदान रद्द भएको हो ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सो विभागले विभिन्न देशमा सञ्चालित परियोजनाको अनुदान रद्द गरिएको उल्लेख गरेको छ । जसअनुसार नेपालमा वित्तिय संघीयता शीर्षक अन्तर्गत दुई करोड डलर र जैविक विविधता संरक्षण शीर्षक अन्तर्गत एक करोड ९० लाख डलर अनुदान रद्द भएको उल्लेख गरिएको छ । कम्बोडिया, बंगलादेश, भारत, सर्बियासहितका मुलुकमा दिइँदै आएको अनुदान रद्द भएको जनाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै अन्तराष्ट्रिय विकास नियोग युएसएडको कार्यक्रम विश्वव्यापी रुपमा तीन महिनाका लागि स्थगन गरिएको केही सातापछि सरकारी दक्षता विभागले विभिन्न परियोजनाको अनुदान रोकेको समेत विवरण सार्वजनिक गरिएको हो ।