अवैध कारोबारमा संलग्न रहेका अग्रवाल पक्राउ

सुन र हुन्डीको अवैध कारोबार गर्दै आएका नरेश अग्रवाल पक्राउ परेका छन् । दुई करोड भन्दा बढी रकमसहित आफ्नै घर क्षेत्रपाटीबाट गएराति उनीसहित अन्य दुईलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो ।

विगत लामो समयदेखि काठमाडौंको बौद्ध क्षेत्रबाट सुन , सी माला (तिब्बतीहरूले लगाउने) तथा पत्थरहरूको कारोबार गर्दै आएका नरेशले कपडाको समेत कारोबार गर्दै आएका थिए । बौद्ध , चप्पल कारखाना चोक, सामाखुशी चौकी अगाडि ,क्षेत्रपाटीमा समेत घर भएका नरेशले पछिल्लो समय सामाखुशीको आलिशान महल बेचेर केही वर्ष अघिदेखि क्षेत्रपाटीमा बस्दै आएको स्रोतले बताएका छ ।

नरेशका दाई भतिजहरू अहिले चप्पल कारखाना नजिक रहेको आलिशान घरमा बस्छन् । विभिन्न व्यापार व्यवसाय गर्दै आएका उनको परिवारका एक सदस्यले काठमाडौंको सुकेधारा क्षेत्रमा विशाल फर्निचर उद्योग र शो रुम समेत सञ्चालन गर्दै आएका छन् ।विभिन्न महँगा कपडाको कारोबार गर्दै आएका नरेश र उनका दाईले बौद्ध स्तूप क्षेत्रमा पसलहरू सञ्चालनमा छन् । दार्जिलिङको कालेपुङबाट काठमाडौ आई नरेशले अवैध कामको साम्राज्य फैलाएका हुन् । नयाँ सडक दैनिकमा २०७६साल साउन १४ गते मंगलबार तदनुसार ३० जुलाई २०१९मा नै नरेश अग्रवालको अवैध धन्दाको बारेमा समाचार सार्वजनिक भएको थियो ।

यस्तो थियो त्यसबेलाको पत्रिका

h11.pngक्यारिङ तथा कार्गोसमेतको कारोबार गर्ने गरेको बताइएका नरेश दाजुभाइले बौद्ध स्तूपमा रहेको मामन कपडा पसल तथा अन्य कारोबार गर्दै आएका थिए । अहिले उक्त पसल उनका आफन्तले सञ्चालन गर्दै आएका छन् । छोरा विवेक अग्रवालले समेत बाबुको काम सम्हाल्दै आएको बताइएको छ ।सर्वेन्द्र खनाल महानगरीय प्रहरी अपराध महाशाखामा एसएसपी हुँदा नरेशलाई सुन र हुन्डी रकम तथा अन्य वस्तुहरूसहित पक्राउ गरिएको थियो । केही दिन बौद्ध प्रहरीको थुनामा समेत रहेका नरेश अग्रवाललाई उनका एक जना तायल थरका आफन्तले छुटाएका थिए ।तायल थरका ती आफन्त उद्योगपति एवं शक्तिको प्रयोग गर्न सक्ने व्यक्ति हुन् ।

यसकारण समातिए नरेश

विगत लामो समयदेखि राजस्व अनुसन्धान विभागले अवैध क्रिप्टोकरेन्सी, अनलाइन जुवा, हुन्डी तथा सुन तस्करीसँग आबद्धहरूको खोजी गरिरहेको थियो । पछिल्लो समय क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कारबाही गरिरहेको थियो र छ । सोही क्रममा नरेश अग्रवालले पनि अवैध सुन , क्रिप्टोकरेन्सी , हुन्डी र सी मालालगायतको कारोबार गर्छन् भन्ने कुरा अनुसन्धानमा रहेका निकायहरूको जानकारीमा थियो । राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सी, हुन्डी, सुन र सी माला कारोबारमा संलग्नहरूको खोजी गर्ने क्रममा नरेशलाई गएराति दुई करोड नगदसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । नरेशसँगै अन्य दुई व्यक्तिलाई पक्राउ गरिएको बताइन्छ ।उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन् । नरेशको घरबाट कपडा अन्य वस्तु बरामद गरिएको छ । बरामद कपडाको मूल्यांकन हुन बाँकि रहेको बताइन्छ ।