कान्तिपुर मिडिया ग्रुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गरेर महासंघका महासचिव रोशन पुरीले कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई बहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनको लागि दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको जनाएका छन् ।

घोषित कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघले २०८० असोज ३० गते मंगलबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपमा १ घण्टा धर्ना दिने कार्यक्रम रहेको विज्ञप्तिमार्फत महासचिव पुरीले जनाएका छन् ।

‘यो धर्ना श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने सबैमा जानकारी गराइन्छ’, पुरीले भेनका छन् ।

‘व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको थियो’, महासंघले भनेको छ ।

घोषित कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार महासंघ उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा महासंघले आग्रह गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपका कर्मचारी र पत्रकारहरूले लामो समयदेखि तलब पाएका छैनन् । कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाले धमाधम कर्मचारीलाई जागिरबाट निकालेका छन् ।

कान्तिपुर दैनिकको नाममा अनुकत कमाइ गरेका र राज्यबाट ठूलो कर मिनाहा पाउँदै आएका सिरोहियालाई पत्रकार महासंघले दशैँका बेला झुकाइ छाड्ने गरेर आन्दोलन घोषणा गरेको छ ।

कान्तिपुर दैनिक पत्रिका, कान्तिपुर टिभी र एफएममार्फत कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाले धेरै हर्कत गरेको आरोप छ ।

पत्रकार र कर्मचारीलाई तलब नदिएर हैरान बनाएका कान्तिपुरका मालिक कैलाश सिरोहियाको सम्पत्ति छानविनको माग पनि उठेको छ । कान्तिपुरको आडमा कैलाश सिरोहियाको ठूलो साम्राज्य छ । त्यो साम्राज्य बचाउन उनले कान्तिपुर मिडिया ग्रुपलाई प्रयोग गर्ने गरेको आरोप छ ।यो समाचार रिपब्लिक दैनिकमा प्रकाशित छ ।