चालू आर्थिक वर्ष २०७९/०८० को बैशाख मसान्तसम्म सरकारको आम्दानी भन्दा खर्च साढे दुई खर्बले बढी


६ जेठ २०८० काठमाडौं ।अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारीको महँगी र पोसाक भत्ता कटौतीको तयारी गरेको बजेट लेखन समितिले गरेको छ । योसँगै सरकारले दिएका विभिन्न सहुलियत तथा अनुदान समेत कटौतीको तयारी गरिएको बुझिएको छ ।

हालसम्म कुन–कुन विषयमा अनुदान हटाउने भन्ने यकिन नभएपनि केही क्षेत्रमा दिएको अनुदान हटाउने तयारी बजेट लेखन समितिले गरेको स्रोतको दाबी छ । यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् विभिन्न क्षेत्रमा अनुदान तथा सहुलियतको सुविध ल्याएका थिए । उनले स्यानेटरी प्याड, विद्युतीय गाडी, स्पञ्ज आइरन, निर्यात लगायतमा सहुलियत तथा अनुदान दिएको सुविधा दिएका थिए ।

छुट तथा सहुलियतका नाममा ठूलो रकम खर्च भएको अनुमान गर्दै स्रोत माथिको दबाब कम गर्न उक्त निर्णय गर्न लागिएकोे अर्थ मन्त्रालय स्रोत बताउँछ ।

साढे २ खर्ब नोक्सानीमा सरकारी कोष

चालू आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार सरकारी कोष साढे २ खर्ब बढी नोक्सानीमा छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को बैशाख मसान्तसम्म सरकारको तथ्यांक अनुसार आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अनुदान प्राप्ति भने सात खर्ब ९७ अर्ब बराबर मात्रै छ ।

कार्यालयका अनुसार १० महिनामा सरकारले वार्षिक विनियोजनको ५८.४१ प्रतिशत बराबर बजेट खर्च गरेको छ । सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख बराबर खर्च भएको छ ।

वैशाख मसान्तसम्ममा चालू खर्च ६६.४९, पुँजीगत खर्च ३३.०४ र वित्तीय व्यवस्थातर्फको खर्च ५८.७९ प्रतिशत बराबर छ । वैशाख मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ५४.६६ प्रतिशत बराबर छ । चालू आर्थिक वर्षका लागि १४ खर्ब तीन अर्ब १४ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्म सात खर्ब ५६ अर्ब २५ करोड ३१ लाख बराबर मात्रै असुल गरेको हो ।

यस्तै, चालू आर्थिक वर्षका लागि ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा लक्ष्यको ८.६६ प्रतिशत अर्थात चार अर्ब ८० करोड बराबर मात्रै अनुदान आएको छ ।