दोलखाको जिरी नगरपालिकाकी एक युवतीको ग्याँस गिजरमा नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको छ ।
जिरी नगरपालिका–२ एलुङकी २० वर्षिया सोनाम छेकी शेर्पाको आफ्नै घरको बाथरुममा नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको हो ।
उनी दशैंको टिकाको दिन बिहानै शेर्पा नुहाउन भनेर बाथरुम गएकी थिइन् । भरी ग्याँस भएको सिलिन्डर जोडेर बाथरुममा नुहाउन पसेको करिव डेढ घण्टासम्म उनी बाहिर ननिस्किएपछि परिवारका सदस्यले हेर्दा घोप्टो परेर ढलेको अवस्थामा फेला पारेको थियो । बाथरुमको ढोका फुटाएर हेर्दा उनको मृत्यु भइसकेको अवस्थामा शव फेला परेको जिरी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष ङिमापल्दे शेर्पाले जानकारी दिए । बाथरुममा अक्सिजनको कमीका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । दोलखामा हल्का जाडोबढेसँगै तातो पानीले नुहाउन थालिएको छ ।