– श्याम राना मगर
हजार वर्ष पुरानो मगर लिपि मौलिक भएर पनि किन चलेन
नेपालका अधिकांश ठाउँको नाम इतिहासका पुराना बसोबाससँग सम्बन्धित छन्। यसै सन्दर्भमा इतिहासकार मोहनबहादुर मल्लले ‘सिञ्जा इतिहासको डोरेटो’मा लेखेका छन्– “जुन ठाउँमा जो पहिले बसोबास गर्यो उसै जातिले त्यो ठाउँको नाम उसको भाषामा राखेको हुन्छ।” उनका अनुसार अहिले पश्चिम पहाडका स्याङ्जा, ह्याङ्जा, धाजा, धरेञ्जा, बरेञ्जा, राम्जा, सालजा आदि त्यहाँ पहिले बसोबास गर्ने जातिले राखेका हुन्।
यी ठाउँको नाम मगरे बोलीबाटै राखिएका हुन् भन्नु बाञ्छनीय हुँदैन। यसलाई भरपर्दो स्रोतका रूपमा मल्लले यसरी व्याख्या गरेका छन्, “आफ्नो थरपछि ‘जा’ भएका मगरहरूः खोरेजा, पाइजा, पुर्जा आदि थरका मगर यी ठाउँमा पहिले बसोबास गरेका थिए। उनीहरूबाटै यस्तो नामकरण गरिएको हुन सक्छ।”
मैदानी भागबाट डाँडाकाँडा उक्लेका र बस्ती बिस्तार गर्दै वनजंगल डुली हिँडेका मगरहरूले काठमाडौँ उपत्यकामा ६६६ वर्ष शासन गरेका थिए। गोपाल वंश र महिषपाल वंशका मगरहरू काठमाडौँ उपत्यकामा शासन गर्ने मगर थिए (मल्ल–३)। उपत्यकाबारे सोधखोज गर्दा गोपालवंश र महिषपाल वंश सर्वथा जोडिएर आउँछ। उपत्यकाका विभिन्न स्थानका नाम महिषपाल र गोपालवंशसँग जोडिएर आउने हुँदा मल्लको भनाइलाई पुष्टि गर्न थप बल पुग्छ।
यद्यपि, मगरहरूको लिपि नहुँदा आफ्नो इतिहासबारे उनीहरूले केही लेख्न सकेनन् (मल्ल– पृ. ९)। मगरहरूको लिपि नभए पनि उनीहरूले प्राकृत भाषा बोल्ने गरेको मल्लले किताबमा उल्लेख गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट सिनो–तिब्बती भाषा तथा भाषा विज्ञानको २५औँ अन्तर्राष्ट्रिय सम्मेलनमा वितरणका लागि प्रकाशित शोधमा निशी योशिओको अ सर्भे अफ द प्रिजेन्ट स्टेट अफ आवर नलेज अबाउट द हिमालयन ल्याङ्ग्वेजबाट उद्धृत गर्दै मगर भाषालाई भोट बर्मेली भाषा परिवारको भाषा भनिएको छ।
भारतको सिन्धु सभ्यता आसपासमा मगरहरू ३५०० ईशापूर्वतिर छिरेको इतिहासविद्ले अनुमान गरेका छन्। चीनको ऐतिहासिक वृतान्तमा ईशापूर्वको ३१०० वर्षअघि आजको मंगोलिया देशको दक्षिण, पामिर पठारदेखि पूर्व र तिब्बतको उत्तरी भेगमा भिषण भौगोलिक प्रलय आई, बाढीले जमिन बलौटे भएकाले त्यहाँका मान्छे अन्यत्र सरे भनिएको छ।
यसबाट कम्तीमा पनि आजभन्दा पाँच हजार वर्षअघि मगरहरू नेपाल छिरेका हुन भन्न सकिने तथ्यप्रमाण रहेको प्रष्ट हुछ। मगरहरू नेपालका पुराना जाति हुन् भन्नेमा इतिहासकारहरूको पनि मतैक्यता पाइन्छ। मगर जातिको उद्भवबारे संक्षिप्त जानकारीबिना विषय प्रवेश गर्दा यो आलेखमा स्पष्टता नआउने ठानिएकाले यसबारे यी तथ्यहरू प्रस्तुत गरिएको हो।
मगर भाषाको उत्पत्ति
मगरहरूले बोल्ने भाषा भोटबाट विकसित भएको हो या संस्कृतबाट भएको हो भन्नेबारे भिन्न तर्क र दाबी छन्। अहिले मगरहरूले बोल्ने भाषा अठार र बाह्र मगरातमा बाँडिएको छ। अठार मगरातमा खाम, काइके र पोइके भाषा चल्तीमा छ। यस्तै, बाह्र मगरातमा ढुट भाषा बोलिन्छ। अठार मगरातलाई रूकुम पश्चिम भेग र बाह्र मगरात भन्नाले पाल्पा, स्याङ्जा, नवलपरासीदेखि पूर्वी भेग पर्छ। पोइके भाषा हालै मगर भाषाको रूपमा थप गरिए पनि यसबारे थप अनुसन्धान हुँदै छ। (लोकबहादुर थापा, मगर भाषाः तुलनात्मक विश्लेषण– ढुट, खाम/पाङ, काइके र पोइके)। मगर भाषाको व्याकरण र उत्पत्तिबारे विस्तृत चर्चा किताबमा छ।
एच. पोखरेलको शोधमा अठार मगरात र बाह्र मगराती भाषा कहाँ–कहाँ बोलिन्छ भन्नेबारे यसरी व्याख्या गरिएको छ– अठार मगराती भाषाभित्र पनि खाम, काइके, र छन्त्याल भाषा पर्छ। रोल्पा, रुकुम, प्युठान, म्याग्दी र बाग्लुङको पश्चिम भेगमा बोल्ने भाषालाई खाम भाषा भनिन्छ। खाम भाषाका आधारमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बरालले मगरहरू चीनको खाम प्रान्तबाट आएको मानेका छन्। उनको अध्ययनअनुसार नेपाल आउँदा त्यहाँको भाषा पनि उनीहरूले साथै ल्याएका थिए। त्यही भाषा नै अहिलेको खाम भाषा हो।
बाह्र मगरात भाषाको मूल थलो पाल्पा, नवलपरासीको उत्तरी भाग, तनहुँ र स्याङ्जा हो। यसैगरी, पश्चिममा बाँके, सुर्खेत र दैलेखमा पनि ढूट भाषा बोलिन्छ भने पूर्वमा काभ्रे, रामेछाप, सिन्धुली उदयपुर, महोत्तरी, भोजपुर, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा आदि जिल्लामा बोलिन्छ।
हुन त यी भेगका मगरहरू अहिले विश्वभर छरिएका छन्। उनीहरूसँगै भाषा पनि लगेका छन्। मगर भाषालाई विद्यालयस्तरबाटै सुदृढ गर्न पाठ्यक्रम तयार पार्नमा कतिपय स्थानीय तहहरू सक्रिय देखिन्छन्। यसरी प्राथमिक तहबाटै पाठ्यपुस्तक तयार पारी पठनसंस्कृति विकास गर्न लागिपर्दा मगर भाषाको श्रीवृद्धिमा पक्कै टेवा पुग्ला।
रेडियो र पत्रपत्रिकामा पनि कार्यक्रम तथा लेखहरू प्रकाशन र प्रशारण गर्नेदेखि भाषा कक्षा पनि सञ्चालन भइरहेका छन्। तर यति हुँदाहुँदै पनि दुखद् पक्ष, मगरहरूले नै मगर भाषा बिर्सिंदै गइरहेका छन्।
एक हजार वर्ष पुरानो मगर लिपि
लिपि कुनै भाषाको लेख्य माध्यम हो। अहिलेसम्म मगर भाषाको लेख्य रूप विकसित नभएको बताइन्छ। चार थरी मगर भाषाका रूप चल्तीमा रहे पनि लिपि नहुँदा अधिकांश लेखोटमा देवनागरी लिपिकै सहारा लिनुपर्ने बाध्यता छ।
तर अध्येता एम. एस. थापा मगरले ३० वर्षअघि ‘प्राचीन मगर र अक्खा लिपि’मार्फत मगरहरूको लिपि संसारकै प्राचीन लिपिमध्येको एक हो भन्ने दाबीसहित बौद्धिक जगतमा नयाँ खुलासा गरिसकेका छन्। ईशापूर्वको एक हजार वर्ष पहिले नै लिच्छिवि मगरहरूले अक्खा लिपिको सिर्जना गरेको उल्लेख गर्दै प्राचीन मगर र अक्खा लिपिमा थापाले दाबी पेश गरेका हुन्। इतिहासवेत्ताको सहारा लिएर थापा स्वयंको गहिरो शोधपछि अक्खा लिपि मगरको हो भन्ने दाबी प्रस्तुत भएको हो।
केही दृष्टान्त हेरौँः मगर भाषामा ‘ङ’ बाट शुरू हुने हजारौँ अक्षरहरू छन्। जस्तै, ङाके–मलाई, ङौ–मेरो, ङाक्के–बोल्ने इत्यादि। प्राचीन अक्खा लिपिमा ङ, ञ र ण मा यस्तो प्रयोग भए पनि आर्य संस्कृत भाषामा यी अक्षरबाट शुरू हुने कुनै धातु छैनन्। आफ्नो प्रयोगमा आउँदै नआउने शब्दको उत्पत्ति गर्नु खासै औचित्य नहुने थापाको तर्क छ।
उनले पेश गरेको मगर र ब्राह्मण भाषाबीचको भिन्नतामा आर्यको दन्त्य व्यञ्जन छ। जस्तैः त, थ, द, ध। यो मगर भाषामा छैन। यसको सट्टा ट, ठ, ड, ढ हुन्छ। आर्यहरूले अक्खा अक्षरमा ट, ठ, ड, ढ को सट्टा त, थ, द, ध चौथो शताब्दीपछि थपिदिएको जिकिर किताबमा छ। ‘ञ’ पनि मगर अक्षर रहेको उनको दाबी छ। थापाले भनेझैँ संस्कृतमा ‘ङ’ ‘ञ’ र ‘ण’ बाट बनेका धातु पाइन्न।
इतिहासवेत्ता राइट्स डेविट्सको भनाइ सापटी लिएर थापाले प्राचीन मगर र अक्खा लिपिमा लेखेका छन्– वास्तवमा अक्खा लिपिबाटै ब्राह्मणहरूले चौथो शताब्दीपछि देवनागिरी लिपि विकास गरेका हुन्।
यसरी ३० वर्षअघि हस्तलिखित लिपि बनाएर लामो शोधखोज गरी तयार पारेको अक्खा लिपि कसरी मगरको लिपि हो? विश्वका अन्य अन्वेषकले समेत पुष्टि गरेका तथ्यमाथि टेकेर थापाले प्राचीन मगर र लिपिको उद्भवको इतिहास देखाएका छन्।
कुनै पनि भाषा चल्तीमा आउन, त्यसको लेख्य रूप हुन्छ नै। बोलीचालीमा मात्र सीमित भाषा, मष्तिस्कमा मात्र धेरै टिक्दैन। अक्खा लिपिलाई केही इतिहासवेत्ताले मगर लिपिको रूपमा अस्वीकार गरेका छन्। थापाले पुस्तकको लेखकीयमै अक्खा लिपि मगरको नभएको विश्वसनीय तथ्य ल्याए स्वीकार्ने प्रतिबद्धता पनि गरिसकेको हुनाले उनले अघि सारेको अध्ययन विधि र लिइएका सन्दर्भसामग्रीलाई मिथ्या साबित गर्न पाउने चुनौती उनको शोधलाई स्वीकार नगर्नेहरूको सामुन्ने छ।
मगर भाषामध्ये चारै भाषालाई समेट्न सक्ने लेख्य चिन्ह अक्खामा पनि पर्याप्त नभएको ‘मगर भाषाः तुलानात्मक विश्लेषण’मा लोकबहादुर थापाले उल्लेख गरेका छन्। कुन लिपि स्वीकार्ने भन्ने स्वतन्त्रता मगर समुदायमै निहित रहे पनि छलफल नै थालनी नहुनु भनेको मगर भाषाको विकासक्रम अझै पछि धकेलिनु हो। वास्तवमा भाषा जीवित बनाउने नै लेख्य रूपले हो।
लिपिबिना मगर भाषा तलाउ बीचमा तैरिने या डुब्ने अवस्थामा ढलपलाइरहेको डुंगा जस्तै हो। यसर्थ यसबारे पर्याप्त छलफल हुनु आवश्यक छ। लोपोन्मुख अवस्थामा पुगेको मगर भाषा ब्युँताउन पहिला भाषा सिक्न पहल गर्नुपर्ने लाइनमा एक थरी मगर देखिन्छन्। अर्कोतिर, अक्खा लिपिलाई मगर लिपि स्वीकारेर तल्लो तहमा प्रशिक्षण कार्यक्रम पनि चलेका छन्। दार्जिलिङमा पनि त्यहाँका अग्रज मगर अक्खा लिपि प्रयोगमा सक्रिय देखिन्छन्। भाषा जोगिए मात्रै लिपि संरक्षणतर्फ लाग्नुपर्ने तर्क पनि मनासिब हुन सक्छ। तर थापाले अघि सारेको बहसको बाटोतिर पाइलै नसार्नु दुखद् हो।
भाषा र लिपिबीच अड्किइरहेको मगर समुदाय, बौद्धिक तप्काबीचको बेमेल नै भाषा सम्बर्द्धन नहुनुको प्रमुख कारण मानिरहेका छन्। तर वास्तवमा राज्यसत्ता नै पिँधमा पारिएका समुदायको आवाज बोक्न चाहँदैन। थापाले ३० वर्षअघि उत्खनन् गरिदिएको प्राचीन मगर र अक्खा लिपिमाथि पर्याप्त बहस, मन्थन गर्ने ठाउँ हुँदाहुँदै बौद्धिक तप्का चुपचाप बस्नुले शंकाको सूई त्यता पनि सोझिन्छ। किनभने राज्यलाई दिशानिर्देशन गरिरहेका समूहले नै कान नफुकिदिँदा राज्यले आवाज सुन्दैन। स्मरण रहोस्– निर्धो समाजको आवाज बोलिदिने दायित्व पहिला शिक्षित वर्गको हो। त्यसपछि राज्यले संरक्षण र कार्यान्वयनको दिशा तय गरिदिनुपर्छ।
नेपालको अन्तरिम संविधान २०६३ ले नेपाली भाषा सरह जनबोलीका अन्य भाषालाई पनि राष्ट्रिय भाषाको दर्जा दियो। त्यसै अनुसार स्थानीय तहलाई अख्तियारी पनि छ। तर सीमित प्रशिक्षण मात्रै पनि लोपोन्मुख अवस्थाको भाषालाई जीवन दिनु फलामको च्युरा चपाउनु सरह बनेको छ।
मगर समुदायबाट यति गहिरो शोधखोज गरी लेखिएको किताब अझै पनि चन्दा उठाएर छाप्नुपर्ने अवस्था छ। यो भने खोजमूलक सामग्रीको पठन र संग्रहप्रेमीहरूको मन बिझाउने खबर हो।
किताबः प्राचीन मगर र अक्खा लिपि
लेखकः एम. एस. थापा मगर
प्रकाशकः मगर प्रकाशन समिति, नेपाल मगर लेखक संघ, केन्द्रीय समिति
पहिलो पटक प्रकाशितः २०४९ फागुन
मूल्यः ३५० (नेरु/भारु), २० (अमेरिकी डलर)
२०८० कार्तिक ९, बिहीबार