क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले असोज १६ देखि २१ सम्म सम्पन्न पार्टीको महाधिवशेन आयोजक समितिको दोस्रो पूर्ण बैठकले लिएका निर्णयहरु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले असोज २४ गते दिनको १२ बजे कुपण्डोलमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा आमन्त्रणका लागि सबै मिडियाहरुलाई पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले पत्राचार गर्नुभएको छ ।न्युजकिरण डटकम अनलाइन खबरसँगको कुराकानीमा कञ्चनले भन्नुभयो; बैठकले धेरै महत्वपूर्ण निर्णय लिएको छ त्यही निर्णय सार्वजनिक गर्न आज यो पत्रकार सम्मेलन गरेका हौं?
पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस विज्ञप्तिको ४ नं. बुँदामा बैठकमा तात्कालिक राजनीतिक कार्यनीतिबारे आवश्यक निर्णय लिएको उल्लेख गर्दै अस्थायी संयुक्त सरकार गठनका निम्ति राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा भनिएको छ, “संकटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवं सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण हाम्रो तात्कालिक राजनीतिक कार्यनीति हुनेछ । देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरुलाई गोलबन्द गरी राष्ट्रिय राजनीतिक सम्मेलन गरिनेछ ।
सो सम्मेलनद्वारा निर्मित क्रान्तिकारी संयुक्त मोर्चामार्फत् गरिने प्रभावकारी जुझारु जनसंघर्ष र प्रतिरोध संघर्षका बीचबाट देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थीहरूको अस्थायी संयुक्त सरकार गठन गरिनेछ । यस सरकारले संघर्षका उपलब्धिहरूको रक्षा सहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आधारित तात्कालिक कार्यक्रमको कार्यान्वयन गर्नेछ र पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्नेछ । यो समग्र प्रक्रियामा संगठन र संघर्षका गतिविधिमा श्रेष्ठता हासिल गरी नेतृत्व लिनका लागि अवक परिश्रम गर्नु पर्नेछ । यसप्रकारको कार्यनीतिले एकातिर आमजनताका तात्कालिक हक, हित तथा अधिकारको प्राप्ति र अर्कोतिर संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्नेछ ।”बैठकले २०८१ जेठ महिनामा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गर्ने निर्णय लिएको छ भने दस्तावेज लेखन सहित यस सम्बन्धी आवश्यक निर्णय लिने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा केन्द्रीय समितिको बैठकमा राष्ट्रघाती एमसीसी कार्यान्वयन, भ्रष्टाचार, महंगी, मिटरव्याजी शोषण, बढ्दो बेरोजगारी, लिम्पियाधुरा, कालापानी, लिपुलेख, सुस्ता लगायत नेपाली भू–भागमा गरिएको भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमण सहित राष्ट्रियता, जनतन्त्र एवं जनजीविका लगायतका विषयलाई लिई संघर्ष गर्ने निर्णय लिएको जानकारी दिंदै यससम्बन्धी संघर्षको कार्यक्रम छिटै सार्वजनिक गरिने जनाइएको छ ।२०८० असोज १६ देखि २१ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति)को दोस्रो बैठक अध्यक्ष मोहन वैद्य किरणको अध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रीय समितिको बैठकमा अध्यक्ष किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन व्यापक छलफल, बहस पश्चात् आवश्यक थपघट एवं परिमार्जन सहित पारित गरिएको थियो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ पार्टीका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल गौरवले दिनुभएको थियो । उहाँले पार्टीको केन्द्रीय समितिले कार्यनीति सम्बन्धमा लिएको यो निर्णयले आम जनतामा संसदीय व्यवस्था, सत्ता र संविधानको विकल्पमा नयाँ मार्ग प्रशस्त गरेको बताउनु हुँदै आम श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायलाई पार्टीले अगाडि सारेको ‘जनगणतन्त्र’को विकल्पको वरिपरि गोलबन्द हुन आव्हान पनि गर्नुभयो । र, आम सञ्चारजगत, बुद्धिजीवी, राजनीतिक विश्लेषण, लेखकहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले अगाडि सारेको राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माणका विषयमा व्यापक राजनीतिक बहस सिर्जना गर्न आग्रह गर्नुभयो ।
उहाँले पार्टीले एउटा सेटमा ल्याएको यो कार्यनीति प्रचारात्मक नभएर क्रियात्मक भएको भन्दै अब सिंगो पार्टी, सिंगो अग्रगामी, वामपन्थी, देशभक्त तथा क्रान्तिकारी जनपंक्ति यो विकल्पको पक्षमा उभिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका रामसिंहश्रीस,हुकुम सिंह लगायतका केही नेताहरु उपस्थिति थिए । सम्मेलन कुपन्डोल कार्यालयमा भएको थियो ।