नयाँ बसपार्कबाट सोमबारमात्रै २४ हजार ३ सय ४० यात्रुले लिए टिकट

नयाँबसपार्कबाट २४ हजार ३ सय ४० यात्रुले दशैँमा घर जानका लागि अग्रिम टिकट लिएका छन् ।
पहिलो दिन सोमबारमात्रै २४ हजार ३ सय ४० यात्रुले टिकट लिएका हुन् ।

सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्व लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

यो डाटा नयाँबसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दिएका हुन्।

देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक बस चल्दै आएको छ । सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक बसलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दुरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ।

नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिए ।

काठमाण्डौ जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ ठाउँमा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको उनले बताए ।

आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित चाडबाडमा बढी भिडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी थालिएको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीको भनाइ छ ।