एक हुल प्रहरी लामाटारको ढुंगिन बसपार्क क्षेत्रमा दुईवटा तालीम प्राप्त कुकुर लिएर घुम्न थाले त्यहाँ एक किसीमको डर र कौतुहुलता छायो । कुकुर पनि लरतरो थिएन, प्रहरीको तालिमप्राप्त लेब्रोडर र जर्मन शेफर्ड । हेर्दै सातो जाने खालको ।यो घटना थियो आइतबार अपरान्ह तिरको ।
बसपार्क वरपर चियापसलदेखि किराना पसलसम्म र बसका यात्रुहरु समेत छक्क परेर कुकुर र कुकुर ल्याउने प्रहरीको हुलतिर हेरेर मुखामुख गर्न थाले । कतिले त्यहाँ ‘कुनै ठुला मान्छेको सवारी हुन लाग्या होला’ भन्ठाने त कतिले चाँहि ‘हत्या या अरु कुनै ठुलै घटना भएछ’ भनेर ।
तर वास्तवमा महालक्ष्मी नगरपालिका वडा नं ९ को लामाटार र ढुंगिन क्षेत्रमा दिउँसो र राती गरि एकहप्ताभित्रै ६-७ वटा चोरीका घटना घटेपछि वडाध्यक्ष जयकृष्ण बोगटीको आग्रहमा त्यहाँ नेपाल प्रहरीको तालिमप्राप्त कुकुर ल्याएर घुमाइएको थियो ।
प्रहरी प्रभाग लुभुको समन्वय तथा प्रहरी वृत्त सातदोवाटोसंगको सहकार्यमा नेपाल प्रहरीको कुकुर तालिम महाशाखा (केनाइन) महाराजगञ्जबाट त्यहाँ कुकुर ल्याइएको थियो ।
दशैं तिहार जस्ता चाडपर्व नजिक आउँदा चोरी र लुटपाटका घटना नियन्त्रण गर्न मानिसहरुको आवात जावत बढी हुने ठाउँ, बसपार्क, ठुला बजार क्षेत्र र चोकचोकमा चोरी र लुटपाटका घटना कमी हुने भएकोले लामाटारको व्यस्त बसपार्क ढुंगिन र आसपासमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुर परिचालन गरिएको वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बताए ।
चोरी र लुटपाट मुक्त वडा बनाउन नेपाल प्रहरीसंग समन्वय गरि आफुहरुले सचेतनाका काम गरिरहेतापनि चाडवाडका बेला सचेत हुँदाहुँदै पनि चोरी र लुटपाटका घटना बढेकोेले प्रहरीको कुकुर परिचालन गरिएको वडाध्यक्ष बोगटीले बताए ।
प्रहरीको तालीम प्राप्त कुकुरले सुँघेर चोरी, लुटपाट र हत्यामा संलग्न अभियुक्तको साथै लागुऔषध सेवन गर्ने र ओसारपसार गर्ने व्यक्तिको तत्काल पहिचान गरेर पक्रिन सफल भएका थुप्रै उदाहरण छन् ।
लामाटारमा मात्रै नभई महालक्ष्मी नगरपालिकाकै वडा नं ८ को लुभु बसपार्क क्षेत्र र वडा नं ५ र ६ मा पर्ने टिकाथली र सानागाउँको वीचमा अवस्थित भाटभटेनी सुपरस्टोर आसपास पनि तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी प्रभाग लुभुका प्रमुख, प्रहरी नायव निरीक्षक सन्तोष बुढाथोकीले बताए ।त्यसो त महालक्ष्मी नगरपालिका छिट्टै विकासको गतिविधि अघि बढेको ठाउँ पनि हो ।पहिले भएको गाविसबाटै सबै वडाका गतिविधिबारे काम बन्ने गर्थ्यो ।केही वर्ष यता सोही गाविस भवनमा इमाडोल प्रहरी चौकी बसेको छ भने नगरपालिका घोषणासँगै नगरपालिकाको भवन हाइवेमा नै भाडामा संचालित छन ।पहिले खुबै ठेक्कापट्टा र दलालहरुको जमघट हुने ठाउँ हो महालक्ष्मी नगरपालिका आसपासका क्षेत्र ।अहिले लामाटार सम्म हाइवे बनेपछि अधिकांश जग्गादले र स्कुल, कल,कारखानाका मालिक त्यससँगै जोडिएका राजनीतिक पार्टी र गुन्डागर्दीहरुको बाहुल्यता त्यस ठाउँलाई रहेको बिस्तारै विकसित,सामाजिक र बौद्धिक एवम् सांस्कृतिक बनाउन नगर पालिका लागि परेको छ ।ग्रिनहिलसिटी पनि नगरपालिका आसपासका क्षेत्रमा हुनाले र भाटभटेनीको संरक्षण गर्न सुरक्षा निकायको अलि जिम्मेवारी महत्वपूर्ण नै मानिन्छ ।