सरकारले गर्यो राष्ट्रिय शोकको घोषणा, १० मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको हो ।

बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । हमासकाे आक्रमणमा परी शनिबार १० जना नेपालीकाे मृत्यु भएकाे थियो भने मृत्युको पुष्टि आइतबार मात्र भएको थियो ।

यो पनि पढौँ:-

नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

पत्र संख्या:-

प्राप्त पत्र संख्या र मितिः- च.नं.:-

सिंहदरबार, काठमाडौ, नेपाल ।

विज्ञप्ति

मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीहरुको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने, घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने र यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०६/२२ को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

यस सम्बन्धमा इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, वेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहने नेपालीहरुलाई यथाशीघ्र नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी नेपाल ल्याउन प्रबन्ध गर्ने लगायतका मन्त्रिपरिषद्का निर्णयहरु सम्बन्धित मन्त्रालयहरुबाट कार्यान्वयन हुने प्रक्रिया अगाडी बढिसकेको छ ।

अतः यस घटनाको सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सम्बद्ध सबैमा हार्दिक अनुरोध छ ।

मितिः २०८०/०६/२२

नारायण प्रसाद भट्टराई सहसचिव / प्रवक्ता