बस रिजर्भ गरेर हजारौँ शिक्षक-कर्मचारी आन्दोलनका लागि माइतीघर भित्रिँदै

उपत्यका बाहिरबाट हजारौँ शिक्षक-कर्मचारी आन्दोलनका लागि माइतीघर भित्रिँदै गरेका छन् ।उनीहरुबस रिजर्भ गरेर माइतीघर भित्रिएका हुन् । शिक्षा विधेयक २०८० मा शिक्षक र शिक्षा सम्बन्धी मागहरु सम्बोधन नगरिको भन्दै आन्दोलित बनेका देशभरका शिक्षकहरु आन्दोलनका लागि राजधानी भित्रिएका छन् । काठमाडौ बाहिरी जिल्लाहरुबाट मंगलबार बिहानैदेखि शिक्षकहरु काठमाडौ भित्रिएका हुन् ।

नेपाल शिक्षक महासंघले मन्त्रालयले बोलाएको वार्तामा बस्न अस्वीकार समेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार दिउँसो तीन बजेका लागि वार्तामा बोलाए पनि शिक्षा मन्त्रालयसँग तत्काल वार्ताको औचित्य नभएको भन्दै वार्तामा बसेन।

महासंघ सह–अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्री तथा व्यवस्थापिकाले बोलाएको वार्तामा मात्र आफुहरु बस्ने बताएकी छिन् ।

विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा मन्त्रालयको अधीन बाहिर गएको ठहर गर्दै मन्त्रालयसँग वार्तामा जानुको औचित्य नरहेको महासंघको ठहर छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै आज बुधबार देखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको छ । त्यसका लागि उपत्यका बाहिरका जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आउने क्रम जारी रहेकोबताइएको छ ।

पटक पटक सरकारसँग सहमति र वार्तामा बसेको तर विधेयक शिक्षक कर्मचारीहरूलाई मर्का पर्नेगरी आएको महासंघको आरोप छ । महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् ।