अप्रिल २२, नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन

९ बैशाख २०८० काठमाडौं ।

आज अप्रिल २२, नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन । नेपाली पात्रो अनुसार कहिले बैशाख ९ मा पर्छ र कहिले बैशाख १० । २००६ साल बैशाखको गणना गर्दा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७४ वर्ष पुगेर ७५ वर्ष लाग्यो । विदेशतिर यस्तोमा ७४ औँ स्थापना दिवस भन्ने गर्छन् । यता हाम्रोमा चाहिँ वर्ष नै पूरा नगरी वार्षिकोत्सव लेख्ने गरिएको पाइन्छ । जस्तो नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) ले पार्टी स्थापना दिवस कार्यक्रम सम्बन्धमा जारी गरेको सूचनामा ‘७५औँ वार्षिकोत्सव’ लेखिएको छ । तर नेकपा (क्रान्तिकारी माओवादी) का महासचिवद्वारा पार्टी स्थापना सम्बन्धमा प्रकाशित वक्तव्यमा चाहिँ ”आज नेपालको कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पूरा गरी ७४ वर्षमा प्रवेश गरेको छ” भनेर लेखिएको छ । हुनु पर्ने ७४वर्ष पूरा गरेर ७५ वर्षमा प्रवेश हो जस्तो लाग्छ । महासचिव कमरेड नै प्रस्ट नभएको देखिन्छ । त्यस्तै कतिपय माध्यमहरूमा ७५ वर्ष पूरा गरेको भनेर लेखिएको पाइँन्छ ।
जे लेखे पनि हामी नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाइरहेका छौँ । यता नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) हरूको एउटा तयारी देखिन्छ । उता टुँडिखेलमा मिहिन पाराले संसदीय अभ्यासको थालनीमा लागेका ‘बाबु साहेब कमरेड’ को अगुवाइमा कम्युनिस्टका नाममा नव–प्रतिक्रियावादी कित्तामा पतन भएकाहरू र वैचारिक- सांगठनिक दृष्टिले विसर्जनको स्थितिमा पुगेकाहरू सहितको टोली रातो झण्डाको गरिमा र मूल्यप्रति नै उपहासको तयारीमा लागेको देखिन्छ । हुन त ‘भेडा भेडासित बाख्रा बाख्रासित’ भनिन्छ, त्यसै होला !

जे होस् आज नयाँ प्रतिबद्धताका साथ व्यवहारमा अघि बढ्ने दिन हो । मुक्तिका पक्षधर, उत्पीडनका विरुद्ध क्रियाशील सबैप्रति हार्दिक शुभकामना ।
– जनमेलबाट