डेढ दशकमा १ लाख ८५ हजार ४० सवारी दुर्घटना भई ३१ हजार ९ सय ४५ जनाको मृत्यु

२०७३ साउन ३१ गतेको त्यो कहालीलाग्दो त्रासदी सम्झन नपरोस् ठान्छिन्, यसुकुमारी लामा।

त्यसदिन उनी घर जाँदै थिइन्। काभ्रेपलाञ्चोक, कोशीपारिमा पर्ने, गोठपानी।

उनी चढेको अरनिको यातायातको बा ३ ख १०६ नम्बरको बसले बिर्तादेउरालीको घुम्ती काट्दै थियो। साविक बिर्तादेउराली गाविस वडा नम्बर ९ (अहिले त्यो भुम्लु र चौँरीदेउराली गाउँपालिकाको सिमानामा पर्छ) मा पर्ने मोड त्यति साँघरो र घुमाउरो पनि थिएन।

बस यात्रुले खचाखच थिए। यात्रु र मालसामानले प्यासेज भरिभराउ थियो। बसभित्र पाइला राख्ने ठाउँसमेत नभएपछि केही यात्रु हुट (छत) मा समेत चढेका थिए। त्यसरी छतमा चढ्ने २० जनाभन्दा बढी हुँदा हुन्।

कच्ची बाटो र ओभरलोड भएकाले बसले घुम्ती काट्न सकेन। घरी ब्याक, घरी अगाडि गर्दै चालक मोड कटाउन खोज्दै थिए।

अचानक गाडीले पाङ्ग्रामुनि राखेको ओट नाघ्यो। गाडी चालकको नियन्त्रणबाट उम्कियो। सडकबाट पल्टा खाँदै तल खस्यो। छतमा रहेका केही यात्रु ज्यान जोगाउन हाम फाले। त्यसरी हाम फालेका कोही बसमै अचानो परे। बसको झ्यालबाट उछिट्टिएका चालक सुर्कामा बजारिन पुगेछन्। उनको हात भाँचियो।

बस सडकबाट खस्दा यात्रुहरू बेस्सरी चिच्याएको र सामानहरू ढोकाबाट उछिट्टिएको धूमिल याद छ यसुलाई।

होसमा आउँदा उनी ट्रमा सेन्टरको शय्यामा थिइन्। आठ दिनपछि होस खुल्दामात्रै उनले थाहा पाइन्, बसमा एकैसाथ यात्रा गरिरहेकी दिदी इन्द्रकुमारीको घटनास्थलमै मृत्यु भयो।

दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए। २८ जनाको शव दुर्घटनास्थलमै फेला परेको थियो। १ जनाको उपचारको क्रममा निधन भएको थियो।

दुर्घटनाको ७ वर्षपछि पनि उनलाई त्यो घटनाले पिरोलिरहँदो रहेछ। दुर्घटनाका बेला यसुका भिनाजु रोजगारीको सिलसिलामा कतारमा थिए। दिदी इन्द्रकुमारी (४८) का छोराछोरी सानै हुनाले उनीहरूको अनुहार हेर्नेबित्तिकै उनलाई त्यही घटनाको झल्को आउँथ्यो।

‘कहिलेकाहीँ म गाउँ जान्छु। ठूलो गाडी त चढ्न सक्दिनँ। सिरिङ्ग हुन्छ। सुमोजस्ता गाडी चढेर गाउँ जान्छु। त्यही बिर्तादेउराली दुर्घटनाबाट जेनतेन बाँचेका र कष्टपूर्वक जिन्दगी चलाइरहेका एकजना दाइसँग भेट हुन्छ। उनको दुःख देख्दा गाडी नै चढ्न नपरेजस्तो हुन्छ,’ उनले सेतोपाटीसँग भनिन्।

दुर्घटनापछि २९ दिन ट्रमा सेन्टर बसिन्। त्यसपछि एक वर्ष अस्पताल चहार्दै र शय्यापिच्छे शरीर बिसाउँदै बित्यो।

बसले भीरमा बल्ड्याङ खाँदा उनको करङका ६ वटा हड्डी टुटेका थिए। गर्धनमा पनि गम्भीर चोट लागेको थियो।

एक वर्ष उपचार गरेपछि उनी उठेर हिँड्न सक्ने त भइन् तर शारीरिक बलको कुनै पनि काम गर्न हुँदैन।

‘कहिलेकाहीँ अतिशय दुख्छ। त्यो बेलाचाहिँ पीडा हुन्छ,’ उनले भनिन्, ‘दुर्घटनापछि मलाई कुनै काम गर्न सक्छुजस्तो नै लाग्दैन। अत्यन्तै कमजोर महसुस हुन्छ।’

बस दुर्घटनामा उनले जति दुःख पाइन्, त्योभन्दा कैयन् गुणा बढी परिवारले कष्ट व्यहोर्‍यो। २९ दिन ट्रमा सेन्टरको उपचार खर्चमात्रै बस समितिले दियो। त्यसपछि सबै उपचार आफैंले गर्नुपर्‍यो।

‘एमआरआई गर्नुपर्ने छ। औषधी किन्नुपर्ने छ। कता समिति, सरकार, सरोकारवाला निकाय खोज्दै हिँड्नु? दुर्घटनामा परेकाहरूले कति दुःख पाउँदा रहेछन्, उनीहरूको आर्थिक जीवन कसरी तहसनहस हुँदो रहेछ भन्ने त्यही बेला थाहा पाएकी हुँ। अहिले कतै दुर्घटना भयो भन्ने सुनें भने पनि मलाई त्यही कुराले पिरोल्छ,’ उनले भनिन्।

काभ्रे दुर्घटनाको एक दशक बित्न लाग्दा पनि समाज उस्तै ऐंठनमा छ। घाइते र मृतक परिवारहरूको नियतिमा एक रति परिवर्तन आएको छैन। दुर्घटनाको कारण र राज्य सञ्चालकहरूको उदासिनमा उस्तै छ।

भदौ १७ गते बिहान साढे सात बजे काठमाडौंको पेप्सीकोलामा डरलाग्दो दुर्घटना भयो। बा ३ ख ४८४८ नम्बरको बस जडिबुटीबाट पेप्सीकोलातिर आउँदै थियो। विपरीत दिशातिरबाट आइरहेको मोटरसाइकलले अचानक बाटो काट्यो। तीव्र गतिमा रहेको बसलाई चालकले नियन्त्रण राख्न सकेनन्। बा ६ च ५३४२ नम्बरको बोलेरो, बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदै सडकमै पल्टिन पुग्यो।

मोटरसाइकल र स्कुटरमा सवार १-१ जनाको मृत्यु भयो।

त्यही दुर्घटनामा रामेछापका राजकुमार मगराती पनि घाइते भएका थिए। दुर्घटनालगत्तै उनी मदरल्यान्ड अस्पताल पेप्सीकोला पुर्‍याइए। अवस्था सामान्य भन्दै अस्पतालले त्यही दिन मध्याह्न १२ बजे डिस्चार्ज गरिदियो।

अहिले दुखाइ बल्झिएर उनी बस्न, उठ्न र सुत्न नसक्ने भएका छन्।

‘काम गरेर खानुपर्ने मान्छे हजुर। ओछ्यानमा परेको छु। त्यो दिनको उपचार त साहुले व्यहोर्नुभयो। अहिले अस्पताल जाने पैसा छैन। कसलाई भन्ने होला?,’ सेतोपाटीसँगको कुराकानीमा उनले दुःख बिसाए।

दुर्घटनामा उनीसँगै रामेछाप, मन्थलीकै अर्जुन रम्तेल पनि घाइते भएका थिए। राजकुमार र उनी एउटै ठेकेदारमार्फत् बिजुलीको तार टाँग्ने काम गर्छन्।

राजकुमारझैं उनको पनि बेस्सरी कोखा दुख्न थालेको छ।

‘घाइतेहरूलाई उपचार गर्न नै जटिल रहेछ। हामीले त कसलाई भन्नुपर्ने हो भनेर भेउ पाउन पनि सकेनौं। ठेकेदारसँग मागौं, उहाँको दोष होइन। बसका साहुसँग मागौं भने पनि अस्पतालले डिस्जार्च गरिदिइहाल्यो। काम गरेर खानुपर्ने मानिस कोठामै थलिएका छौं,’ उनले पनि उस्तै पीडा सुनाए।

सवारी दुर्घटना त्यसपछि घाइते र मृतक परिवारले व्यहोरिरहेका पीडाका केही प्रतिविम्बनमात्र हुन् यी।

डेढ दशकमा ३१ हजारको दुर्घटनामा मृत्यु

शुक्रबार राति दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस दुर्घटनामा पर्‍यो। ७ जनाको मृत्यु भयो भने २८ जना घाइते भए। २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ।

बर्दियाको बेतना सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध उनीहरू तीर्थाटन गरेर फर्किंदै थिए। राति साढे ९ बजेतिर बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग ठोक्किएपछि ७ जनाको हताहती भयो।

यो पछिल्लो दृष्टान्त हो।

नेपालमा सवारी दुर्घटनाको आँकडा उकालो लागेको लाग्यै छ। नेपालमा सवारी दुर्घटनाबाट दिनमा सरदरमा ६ जना र वर्षमा औसतमा २ हजार बढीले ज्यान गुमाउने गरेको तथ्यांक छ।

डेढ दशकअघि ५ हजार १७ सवारी दुर्घटना भएका अघिल्लो आर्थिक वर्ष आइपुग्दा झन्डै पाँच गुणाले बढेको छ। बढ्दो सवारी चापको अनुपातमा हेर्दा ठूलो आँकडा नलाग्न सक्छ। तर, यसले सिर्जना गरेको अवस्था भने भयावह छ। एक किमिसले भन्ने हो भने दिनहुँको दुर्घटनाले व्यक्तिमात्र नभई समाजलाई नै खँजाहा बनाइरहेको छ।

आर्थिक वर्ष २०६५/०६६ मा सवारी दुर्घटनाबाट १ हजार ३ सय ५६ जनाको ज्यान गएको थियो। अहिले त्यो तथ्यांक झन्डै दोब्बरले बढेको छ। अघिल्लो आर्थिक वर्षको साउन मसान्तसम्म सवारी दुर्घटनाबाट २ हजार ३ सय ६८ जनाले ज्यान गुमाएका छन्।

यो तथ्यांक गएको आर्थिक वर्षको तुलनामा भने ५ सय १५ ले कमी हो। आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ८ सय ८३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको तथ्यांक छ।

त्यसो त आर्थिक वर्ष २०७१/०७२ देखि दुर्घटनाको ग्राफ निरन्तर उकालो लागेर आर्थिक वर्ष २०७६/०७७ मा केही कम भएको थियो।

आर्थिक वर्ष २०७१/०७२ मा २ हजार ४, २०७२/०७३ मा २ हजार ६, २०७३/०७४ मा २ हजार ३ सय ८४, २०७४/०७५ मा २ हजार ५ सय ४१ जनाको सवारी दुर्घटनामा ज्यान गएको थियो।

त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा २ हजार ७ सय ८९ को ज्यान गएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा भन २ हजार २ सय ५१ ज्यान जाँदा २०७७/०७८ मा पुनः २ सय ४९ ले बढेर २ हजार ५ सय पुगेको थियो।

अहिलेसम्मको तथ्यांकलाई विश्लेषण गर्दा आर्थिक वर्ष २०७८/०७९ मा धेरै अर्थात् २ हजार ८ सय ८३ जनाले ज्यान गुमाएका छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५/०६६ को तुलनामा आर्थिक वर्ष २०६६/६७ मा ३ सय ७८ जना बढीले ज्यान गुमाएका थिए। आर्थिक वर्ष २०६६/६७ मा १ हजार ७ सय ३४ जनाले ज्यान गुमाएका थिए।

त्यसपछिका आर्थिक वर्षमा भने वृद्धिदर त्यसरी उकालो लागेन। आर्थिक वर्ष २०६७/६८ मा १ हजार ६ सय ९८, २०६८/६९ मा १ हजार ८ सय ३७ रहेकामा आर्थिक वर्ष २०६९/०७० मा केही घट्यो। आर्थिक वर्ष २०६९/०७ मा १ हजार ७ सय ८७ जनाको सवारी दुर्घटनामा ज्यान गुमेको थियो।

यसरी डेढ दशकमा १ लाख ८५ हजार ४० सवारी दुर्घटना भई ३१ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ।