उपचार नपाएर मृत्यु हुने अवस्था किन आयो : गगन थापा

काठमाडौं । संविधानमा गरिएको स्वास्थ सेवा व्यवस्था माथि प्रतिनिधि सभामा आवाज उठेको छ ।कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारसँग शवाज उठाएका हुन ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारसँग जवाफ मागेका छन् ।

बिहीबार चलेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर थापाले उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भनी प्रश्न गरेका थिए ।

उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको आफन्तले बताएका छन् ।

यस्तो अवस्था कसरी आयो भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले पनि सरकारमाथि प्रश्न गरे । यस घटनाका सम्बन्धमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने उनको माग रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको बताएकी थिइन्।

रास्वपाकी सांसद सुमना श्रेष्ठले नेपालले अवलम्बन गर्दै आएको र अभ्यासमा रहेको सिस्टमको असफलताको कारण कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको बताइन् । सरकारले ध्यान नदिनु नै ठूलो गल्ती हो ।

त्यसो त सत्तामा आफ्ना पक्षका समस्यालाई राष्ट्रको समस्या मान्ने र सर्वसाधारणका लागि भने स्वास्थ्य विषयमा कसैले आवाज नउठाएको एक बटुवाले बताइन ।