जनताको गुनासोलाई पहिलो प्राथमिकता: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।

आइतबार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् । उनले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जीवनका लागि महत्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न आग्रह गरे ।

उनले सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुने बताए । सार्वजनिक निकायहरुमा गुनासो सुनुवाई गर्ने संयन्त्र रहेपनि त्यसले जनताको मुहार उज्यालो बनाउन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले जनताका गुनासो तथा जिज्ञासाहरुलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध नगराउने स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताए ।

उनले भने, ‘यस संयन्त्रलाई सरकारी नीति, निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीको रुपमा विकास गर्नुपर्ने नै छ । यसका साथै गुनासो व्यवस्थापन प्रणालीलाई कृतिम बौद्धिकतासँग आवद्धता गर्नुपर्ने लगायत नागरिकका उत्कृष्ट विचार लिने क्राउड सोर्स गभर्नेन्सका रुपमा विकास गर्न पनि त्यत्तिकै अपरिहार्य छ । सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मिय सम्बन्धको विकास हुनु हो । जनतामा सरकार पनि छ, भन्ने अनुभुति गराउन सकिएन भने हामीले जे–जति सेवा प्रवाहमा सुधार गरे पनि या सुशासनका कुरा गरेपनि यसले धेरै अर्थ राख्दैनँ । त्यसैले म नेपाल सरकारका सबै निकायहरुलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न विशेष निर्देशन दिन चाहन्छु । हाम्रा लागि साना तथा धेरै महत्वका नलाग्न सक्ने गुनासोहरु आम जनताको लागि दैनिक जिवनका आयामसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण विषय हुन् सक्छन् । गुनासा तथा जिज्ञासाहरु सबै महत्वपूर्ण नै हुन्छन् र सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुन्छन् भनेर हामीले बुझ्नुपर्ने हुन्छ । अहिले हाम्रा विभिन्न सार्वजनिक निकायहरुमा गुनासो सुनुवाई गर्ने संयन्त्र रहेका छन् । तर सबै संयन्त्र अझै जनताको मुहार उज्यालो बनाउन सक्ने ऐनाको रुपमा रुपान्तरण हुन सकेका छैनन् । जनताका गुनासो तथा जिज्ञासाहरुलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध गराउन सक्दैन । सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखार्न र कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जान सक्दछ ।’

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” पछिल्लो समय प्रभावकारी रुपमा सञ्चालनमा हुन सकेको थिएन । आइतबारदेखि २४ घण्टा सञ्चालनमा आउने जनाइएको छ । नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ । हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको जानकारी दिए । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको जनाइएको छ । यो समाचार रातोपाटीमा प्रकाशित छ ।