पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।
उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ । चालु शैक्षिकसत्रदेखि उहाँले कक्षा १ को पढाइ सुरु गर्नुभएको हो । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थाल्नुभएको छ । उहाँ पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नुहुन्छ । “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उहाँले भन्नुभयो, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”यो समाचार गोर्खाली खबरमा प्रकाशित छ।