अब बिजुली बसबाट काठमाडौं उपत्यकाका सम्पदा क्षेत्र घुम्न सकिने

११ जेठ २०८० काठमाडौं । नेपाल पर्यटन बोर्ड र साझा यातायातको सहकार्यमा सम्पदा घुम्ती बस सेवा (Hop On Hop Off) सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मङ्गलबार विद्युतीय बसको सो सेवा औपचारिक सुरुवात गरेका हुन् ।

दुई पक्षबीच सम्पन्न सहमतिका आधारमा उपत्यकाका महत्त्वपूर्ण सम्पदा स्थलहरूको भ्रमण गराउने उद्देश्य सहित सम्पदा घुम्ती बस सेवा सुरु गरिएको हो । बस सेवाले काठमाडौंका साथै ललितपुर महानगरपालिकामा रहेका महत्त्वपूर्ण सम्पदा स्थल तथा संग्रहालयहरूको भ्रमण अवलोकनलाई समेट्नेछ ।

यसका लागि जाँदा साझा यातायात पुल्चोकबाट ललितपुर महानगरपालिका स्थित टुरिस्ट बसपार्क हुँदै काठमाडौं महानगरपालिका स्थि महांकाल मन्दिर, आर्मी अस्पताल, जमल, दरबारमार्ग, नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिर स्थित टुरिस्ट बसपार्क, गौशाला, चाबहिल चोक, तारागाउँ संग्रहालयहुँदै जोरपाटीसम्मको रुट तय गरिएको छ ।

त्यस्तै फर्किँदा जोरपाटीबाट तारागाउँ संग्रहालय हुँदै नारायण गोपाल चोक, गोङ्गबु, बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालिमाटी), कालिमाटी चोक र त्यहाँबाट रिङरोड हुँदै एकान्तकुना, सदर चिडियाखाना, साझा यातायात पुल्चोक सम्मको रुट तोकिएको छ ।

साझा यातायातले नेपाल सरकारको शेयर लगानीको रकमबाट पहिलो चरणमा खरिद गरेका ४० थान विद्युतीय बस मध्ये सम्पदा घुम्ती बस सेवाका लागि दुई थान बस सञ्चालनमा ल्याएको छ । विद्युतीय बसको प्रयोगलाई प्राथमिकताका साथ अघि बढाएको संस्थाले यस अघि पहिलो तीन थान बस २०७९ असार महिनामा परीक्षणका लागि सञ्चालन गरेको थियो ।

सम्पदा घुम्ती बस सेवाका सहित हाल साझाका आठ थान विद्युतीय बस उपत्यकाका विभिन्न रुटमा सञ्चालित छन् भने क्रमिक रुपमा थप विद्युतीय बसहरू सञ्चालनमा ल्याउने योजना समेत रहेको छ ।

ललितपुर महानगरपालिकाको टुरिस्ट बसपार्कमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नयाँ प्रयोगको रुपमा ल्याइएको यो सेवा सुरु गर्न लामो समय मेहनत गर्नुपरे पनि यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

संघीय सरकारको सोच अनुसार नै सेवा सुरु गरिएको भए पनि यसको प्रभावकारिता र निरन्तरताका लागि प्रदेश तथा स्थानीय सरकारको समेत महत्त्वपूर्ण भूमिका रहला । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सभ्य सहरमा उपलब्ध हुने यस प्रकारको सेवा उपत्यकामा सुरु भएको भने ।

सेवाको निरन्तरता र स्थायित्वका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्नु पर्छ । त्यस क्रममा साझा यातायात सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सुशीलराज प्याकुरेलले आम नागरिक माझ सार्वजनिक यातायात सेवालाई व्यवस्थित र सहज बनाउन प्रयत्नशील साझा यातायातले पर्यटक केन्द्रित यातायात सेवा सुरु गर्यो ।

सम्पदा बस सेवा सञ्चालनका लागि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले बस सञ्चालनका लागि बस बिसौनी र चार्जिङ स्टेसनको व्यवस्थामा सरकारको सहयोग आवश्यक रहेको बताए । बस डिपो र चार्जिङ स्टेसनको अभावमा बस सञ्चालन दिगो हुन गाह्रो पर्ने तर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए।