२३ बैशाख २०८० काठमाडौं । स्यानेटरी प्याडभित्र लुकाएर लागूऔषध ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी झापामा पक्राउ परेका छन्। काठमाडौं आउन लाग्दा भद्रपुर विमानस्थलमा प्रहरीले सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी सन्ध्यालाई शुक्रबार पक्राउ गरेको हो। सोनीले प्याडभित्र लुकाएर ७६ ग्राम ब्राउनसुगर तस्करी गर्न लागेको प्रहरीले जनाएको छ।
उनीहरु विमानस्थलको चेकिङमा परेका थिए। हैटौंडा घर भएका दुबै जना बुद्ध एयरको उडानबाट काठमाडौं आउन लागेको बताइएको छ। उनीहरुलाई परिचालन गर्ने गिरोहको खोजी भइरहेको प्रहरीको भनाई छ। प्रहरीका अनुसार उनीहरुको साथबाट उक्त ब्राउनसुगर, नेपाली नागरिकताको प्रमाणपत्र र एउटा मोबाइल बरामद गरिएको छ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।