विद्यालय प्रथमलाई पाठा सहितको बाख्रा उपहार

२८ चैत्र २०७९ काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाको एक विद्यालयले प्रथम हुने विद्यार्थीलाई पाठासहितको बाख्रा उपहार दिएको छ । हरिवन नगरपालिका–८, चापिनीमा रहेको चुरे जनता आधारभूत विद्यालयले कक्षा १ बाट २ मा उत्तीर्ण भएका निश्चल मोक्तानलाई सो उपहार दिएको हो । उनी विद्यालय प्रथम भएका थिए ।

बन्दै हुन लागेको विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनको लागि यो अभियान सुरु गरेको सो वडाका वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिए । उनले बालकलाई प्रदान गरिएको बाख्रा र पाठाबाट उनको परिवारलाई आयस्रोतमा समेत टेवा पुग्ने अपेक्षा गरिएको बताए ।

आइतबार विद्यालयमा वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्दै वडाध्यक्ष ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेती, प्रधानाध्यापक डिल्लीराम भट्टराईलगायत भएर विद्यालय पहिलो हुने बालक मोक्तानलाई शैक्षिक सामग्रीसहित बाख्रा र पाठा प्रदान गरेका छन् । वडाध्यक्ष ढुङ्गानाले आफू यस विद्यालयलाई नमूना बनाउने उद्देश्यसहित पठनपाठन सुधार गरी विद्यार्थी सङ्ख्या बढाउने अभियानमा लागिपरेको बताए ।

चापिनीको यो विद्यालयमा अहिले २२ जना विद्यार्थी मात्रै छन् । वडाध्यक्ष ढुङ्गानाले लालबन्दी नगरपालिका–६, मा रहेको प्रेमज्योति आधारभूत विद्यालय विद्यार्थी नपाएर बन्द हुनै लागेको अवस्थाबाट अहिले सुधारगर्दै लगेपछि दुई सय भन्दा माथि विद्यार्थी पुगेको उदाहरण दिँदै चापिनीको यो विद्यालयलाई पनि प्रेमज्योतिकै अवस्थामा पुर्याउने लक्ष्य रहेको बताए ।