संस्थागत (निजी विद्यालय)मा कार्यरत शिक्षकहरुलाई सरकारी तलब नदिए शिक्षा विभागमा सम्पर्क गर्न बालेनकोआग्रह

१६ असार २०८० काठमाडौं । महानगरपालिकाले संस्थागत (निजी विद्यालय)मा कार्यरत शिक्षकहरुलाई सुविधाअनुसार तलब नपाए काठमाडौं महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

निजी विद्यालय(बोर्डिङ)मा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै उनले यस्तो अनुरोध गरेका हुन्।

‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख भएको उनले बताएका छन्।कतिपय बोर्डिङको सरकारी स्केलमा २५ देखि ३५ प्रतिशत थपेर दिने समेत विद्यालय विनियम बनेको छ ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा पनि शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम व्यवस्था गरिएको बालेनले स्पष्ट गरेका छन्।

जसकारण काठमाडौं महानगर क्षेत्रभित्र निजी विद्यालयमा कार्यरत शिक्षकलाई सामुदायिक विद्यालय सरहकै सुविधा दिनु पर्ने बालेनको निर्देशन छ ।

सामुदायिक विद्यालय सरह सुविधा नपाउने निजीका शिक्षकलाई उनले भनेका छन्, ‘सुविधा अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।’