आवश्यकता र अवस्था हेरेर यात्रामा निस्कनु

काठमाडौँ —अविरल वर्षासँग राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन्। हेटौंडा हुँदै काठमाडौं आउने कान्ति लोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् ।

मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ। वीपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ।प्रहरी उपरीक्षक सुवेदीले अत्यावश्यक भए सडकको अवस्था बुझेरमात्रै यात्रामा निस्किन आग्रह गरेका छन् ।यससँगै रामेछाप, सिन्धुली हुँदै रोशी खोलाको यात्रामा पनि सवारी साधनलाई अवस्था हेरेर आवत जावत गर्न भनिएको छ ।मौसमपूर्वानुमान शाखाले १८ देखि २१ गतेसम्म नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ । उपत्यकामा झरी परिरहेको छ।