-गोकुल जोशी
अछामको ढकारी गाउँपालिका–१ मा मृत भेटिएका दुई किशोरीको हत्या भएको खुलेको छ। बाख्रा चराउन गएका दुई किशोरीको हत्या गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
१५ वर्षमुनिका दुई किशोरले ती किशोरीहरुको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।
ढकारी गाउँपालिका–८ का १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय ईश्वरी शनिबार स्थानीय जंगलको छिन्ने ओढारमा मृत फेला परेका थिए।
यौन प्रस्ताव अस्वीकार गर्दा घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीको अनुसन्धानले किशोरी हत्या घटनामा तीन कारण देखाएको छ। मायाको चिनो नदिनु, यौन प्रस्ताव अस्वीकार गर्नु र घटना लुकाउन अस्वीकार गर्नाले दुवै किशोरीको हत्या भएको हो।
सरस्वती र ईश्वरी कमलबजार नगरपालिका–१० विद्या प्रबोधनी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्थे। उनीहरु दुवै ढकारीकै किशोरसंग प्रेम सम्बन्धमा थिए। घटनाभन्दा दुई दिनअघि आरोपित किशोरहरू (परिवर्तित नाम मंगलसेन ७३ र मंगलसेन ७६) डुफा भन्ने ठाउँमा आफन्तको घरमा गएका थिए।
सरस्वतीसंग मंगलसेन ७६ र ईश्वरीसंग मंगलसेन ७३ को फोन सम्पर्कबाटै प्रेम झागिएको थियो। घटनाको दुई दिनअघि नै आफन्त कहाँ आएका किशोरहरूले बिहिबार सरस्वती र ईश्वरीलाई भेट्न खोजे। पटक–पटक फोन गरेर भेट्न बोलाउँदा पनि उनीहरुको भेट हुन सकेन। अर्को दिन किशोरहरू योजना बनाएर भेट्न स्थानीय खोलामा किशोरीहरुको बाटो ढुकेर बसे। सरस्वती र ईश्वरी पनि विद्यालयमा खेलकुद चलिरहेकाले त्यो दिन विद्यालय गएनन्। शुक्रबार दिउँसो १२ बजेतिर रिमरौवा खोला नजिकको खोरबाट बाख्रा लिएर चराउन जंगलतिर लागे।
त्यहाँ किशोर र किशोरीबीच भेटघाट हुन्छ। सरस्वतीको मोबाइलबाट मंगलसेन ७३ ले गीत भिडिओ सेयर गरे। त्यसपछि नजिकैको छिन्ने ओढारमा गएर बस्छन्।त्यहाँ किशोरी र किशोरबीच दोपट्टा र इयरफोनको विषयमा विवाद हुन्छ। प्रहरीका अनुसार मंगलसेन ७६ ले सरस्वती र ईश्वरीसंग मायाको चिनो दोपट्टा माग्छन्। तर दिदैनन्।
ईश्वरीको दोपट्टा खोसेर मंगलसेन ७६ ले मंगलसेन ७३ लाई दिए। सरस्वतीले प्रेमी मंगलसेन ७६ लाई दोपट्टा नदिएपछि उनले सरस्वतीबाट इयरफोन खोस्छन्। ईश्वरीले इयरफोन दाइको हो भन्दै फिर्ता लिएकी थिइन्।
यसबीचमा किशोरहरुबीच पनि सामान्य विवाद भएको थियो। त्यसपछि सरस्वती र ईश्वरी बाख्रा फर्काउन केही तल आए। सरस्वतीका प्रेमी मंगलसेन ७६ उनी भए तिरै झरेर यौन प्रस्ताव राख्छन्। तर सरस्वतीले अस्वीकार गर्छिन्।
उनले बिहे गर्ने भएपछि मात्रै यौन सम्पर्क राख्न दिने भन्छिन्। ‘अहिले उमेर कमै छ। ५/६ वर्षपछि बिहे गरौँला भनेर किशोरले यौन प्रस्ताव राख्छन्,’ डीएसपी भण्डारीले भने, ‘यौन प्रस्ताव अस्विकार गरेको झोकमा ढुंगाले टाउकोमा हिर्काएको खुलेको छ।’
सरस्वती बेहोस भएर त्यहीँ ढलिन्। त्यसपछि प्रेमी मंगलसेन ७६ फर्केर अगाडि बसेकै ढुंगामा पुग्छन्। त्यहाँबाट उनले ढुंगा लडाउँछन्। त्यस बेला ईश्वरी र मंगलसेन ७३ अर्कै ठाउँमा हुन्छन्। उनीहरुलाई घटनाबारे केही थाहा हुँदैन।
ढुंगा खसेको देखेपछि मंगलसेन ७३ सरस्वतीको शव भएतिर आउँछन्। ईश्वरी पनि त्यतै लाग्छिन्। दुवै किशोरले ईश्वरीलाई घटनाबारे कसैलाई नभन्न भनेपनि ईश्वरीले इन्कार गरिन्। घरतर्फ फर्किरहेका बेला मंगलसेन ७६ ले उनको बाटो छेके।
घटना लुकाउन मंगलसेन ७३ ले ईश्वरीको पनि हत्या गरे। उनको निधारमा ढुंगाले हिर्काए। ढलेपछि मंगलसेन ७६ ले पनि उनीमाथि फेरि ढुंगाले प्रहार गरेर हत्या गरेका हुन।
मंगलसेन ७३ र मंगलसेन ७६ लाई अछाम जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।