शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि नगर्न ध्यानाकर्षण गराएको छ ।
आफ्नो हकको माग गर्दा आम विद्यार्थीको सुरक्षित र शान्तिपूर्ण वातावरणमा निर्वाध रूपमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध गर्ने गतिविधि भइरहनु उपयुक्त नहुने भन्दै ध्यानाकर्षण गराएको हो ।
“शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हड्तालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने हुँदा यस प्रकारका गतिविधि शिक्षण संस्थामा नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा मन्त्रालय हार्दिक अपिल गर्दछ आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।”
साथै त्यस्ता कार्यमा आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिन स्थानीय प्रशासनलाई समेत मन्त्रालयले हार्दिक अनुरोध गरेको छ । कुनै पनि शिक्षण संस्था तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थामा भइरहेका त्यस्ता गतिविधिको अन्त्य गरी शिक्षा प्राप्त गर्ने व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण गर्दै संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न र शैक्षिक सेवा प्रवाहको निरन्तरता सुनिश्चित गर्ने व्यवस्था गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि मन्त्रालय सदैव प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
यो पनि पढ्नुहोस्:-
शिक्षक शिक्षिकाहरुले आउँदो माघ १६ र १७ गते हुने राष्ट्रिय समितिको बैठकले निर्णय गरेमा कडा संघर्षका कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको एक स्थायी शिक्षकले बताए । सरकारले अध्यादेश मार्फत शिक्षा तथा अन्य विधेयक ल्याएको तिनले बताए ।
