परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एनजी आएको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था गर्न लागेको छ ।०७२ बाट सुरु भएको एसईई ग्रेडिङ प्रणालीबाट परीक्षा लिइरहेको सानोठिमीले यसवर्ष देखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा अघिल्लो वर्ष ‘नो ग्रेड’एनजी आएको विषयको मात्रै परीक्षा दिन व्यवस्था लागू गर्न लागेको हो ।
यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’प्लस र प्रयोगात्मक विषयमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था यस अघि नै गरिएको थियो ।
हाल संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनैपर्ने हुन्छ । विद्यार्थीले नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने बताए । यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि हुने बताइएको छ । विद्यार्थीले ३ पटकमा एसईई अनिवार्य पास गर्नुपर्ने नियम बनाइएको छ ।