नेपाल भारतमैत्री सङ्गठनले दुवै मुलुकको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म फैलाउन धार्मिक भ्रमण तथा सांस्कृतिक आदानप्रदान गर्ने भएको छ ।
एक आयोजित कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष अनुप सिंहले दुई देशबीचको सदियौँ पुरानो सम्बन्धलाई थप सुमधुर बनाउनका लागि दुई मुलुकका नागरिक तहमा भाषा, साहित्य तथा संस्कृतिको आदानप्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले दुई देशको खुला सिमानाले जनस्तरको भाषिक, वैवाहिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई सहज बनाएको विचार व्यक्त गरेका छन् । उनले सुरक्षा संवेदनशीलता, सीमा विवादलाई समाधान गरी दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने बताए ।
सङ्गठनका महासचिव सम थापाले सङ्गठनले दुवै मुलुकका तीर्थयात्रीको सुविधाका लागि दुई देशका महत्वपूर्ण तीर्थस्थलमा धर्मशाला निर्माण गर्न लागेको बताएका छन्। सङ्गठनले राजनीतिक मुद्दा र सीमा विवादले जनताबीचमा बढ्दो नकारात्मक भावनालाई न्यूनीकरण गर्न प्रदेशस्तरीय सभा सम्मेलनसमेत गर्ने थापाले बताए। कार्यक्रममा निर्मला श्रेष्ठको अध्यक्षतामा सङ्गठनको काठमाडौँ जिल्ला कार्यसमिति गठन गरिएको थियो ।