दाम्पत्य जीवनमा समानताको आभास, यौनिकता र लैङ्गिक समानता

लैङ्गिक समानताका विभिन्न आयाम हुन्छन् । हामी केमा समानता खोज्छौं ? या चाहन्छौं ? सामान्यतया पेशा, व्यवसाय, भान्छा, नेतृत्व, शिक्षा लगायत विभिन्न विषय र क्षेत्रमा समानता खोज्छौं । तर यौनमा समानताको सवाल यसरी खुलेर खोज्दैनौं, जसरी कि यो त्यति आवश्यक छैन ।

चाहे त्यो श्रीमान्/श्रीमती बीचमा हुने सम्बन्ध होस् या पार्टनर बीचमा, हामी अक्सर मौन बस्न रुचाउँछौं । हुन त हाम्रो हुर्काइ, शिक्षा (औपचारिक/अनौपचारिक) र हाम्रो वरिपरिको सामाजिक, सांस्कृतिक र धार्मिक वातावरणले यस विषयमा न बोल्न सिकायो, न सुन्न सिकायो । न त सोध्न नै सिकायो ।

यौनमा भएका बेमेल र जिज्ञासाहरू भन्न हामी हिच्किचाउँछौं । डराउँछौं । किनभने, हाम्रो जस्तो सामाजिक, सांस्कृतिक चिन्तनको घेरा साँघुरो भएको समाजमा यौनको बारेमा खुलेर बोल्नु छाडा हुनु हो ।

यौनको बारेमा बहस गर्नु अराजक हुनु हो । अश्लील हुनु हो । यद्यपि यौन सम्बन्धहरू भित्र भएका कैयौं असमानता र असहजता विरुद्ध हामी बोल्न जरूरी छ ।

नेपाल प्रहरी तथा अन्य निकायको तथ्यांकलाई आधार मान्दा महिला/किशोरीमाथि हुने हिंसामध्ये सबैभन्दा बढी घरेलु हिंसा (लगभग ६०-७० प्रतिशत) हुने गरेको छ । बीबीसी मिडियाका अनुसार विगत ५ वर्ष २०७२/७३ देखि २०७७/७८ मा घरेलु हिंसा ६० हजार रहेको उल्लेख छ । एकातिर घरेलु हिंसाको तथ्यांक भयावह छ भने अर्कोतिर कानुनी न्यायको लडाइँ उत्ति नै झन्झटिलो र डरलाग्दो छ । कानुनी न्याय असम्भवप्रायः छ ।

वडास्तरमा रहेका मेलमिलापकर्ताले समुदायस्तरमै मेलमिलापको माध्यमबाट यस प्रकारका घटना टुङ्गोमा पुर्‍याउनुपर्ने कानुनी व्यवस्था छ भने दोस्रो/तेस्रो चरणमा न्यायिक समिति हुँदै एकाध घटना अदालतसमक्ष पुगे पनि अदालती प्रक्रियामा पीडितले थप धेरै ठाउँमा पीडित हुनुपर्छ । घरेलु हिंसामा अदालती फैसला भएको घटना नगण्य हुन्छ भने फैसला भए पनि उक्त फैसला कार्यान्वयनमा धेरै जटिलता देखिन्छ ।

अब कुरा जोडौं यौनको । यसरी घरेलु हिंसाबाट गुज्रेका महिलाहरूसँग सूक्ष्म ढंगले परामर्श गर्दै जाँदा, मनोविमर्शका सेसनबाट पीडाका कारणको उत्खनन् गर्दै जाँदा, धेरैमा झगडाको जड कारण दुईवटा निस्कन्छन् । एउटा यौन र अर्को महिलाको श्रम । अर्थात्, खाना कस्तो नमिठो पकाइस् भन्यो पिट्यो, शारीरिक आक्रमण गर्‍यो । लुगा किन धोइनस् भन्यो झर्कियो, रिसायो र अन्त्यमा हात हाल्यो !

मोजा कहाँ छ भन्यो, यो छैन, ऊ छैन भन्यो, कति गनगन गर्छेस् भन्यो पिट्यो ! तर झगडाको मनोविज्ञान भने, भनेको समयमा, भनेको जसरी र भनेको जति पटक यौन सम्बन्ध स्थापित गर्न नपाउनु हुन्छ । यी यौन कुण्ठाहरू विभिन्न बहानाबाट पोखिएको स्वयम् महिलाहरूको अनुभूति रहेको हुन्छ । यस प्रकारका हिंसा यौनमा भएका कुण्ठाका ‘बाइप्रडक्ट’ हुन् पनि भन्दा खासै फरक नपर्ला !

त्यस्तै, औसतमा महिलाले पुरुषको तुलनामा दिनको दुई घण्टा बढी काम गर्छन् तर पनि महिलाको उक्त श्रमको न त आर्थिक गणना छ न त सामाजिक मूल्य नै । यसैलाई औजार बनाएर गरिएको असमान सम्बन्धको श्रेणीकरणले हामीलाई कहाँ पुर्‍याउला ?

बोलीचालीको भाषामा, साहित्य तथा मनोरञ्जनका विभिन्न विधामा र छलफलको क्रममा पुरुष पात्रले यौन सम्बन्धको कुरा सामान्य ढंगले गरिरहेका हुन्छन् । जस्तो किः त्यसलाई कसरी ‘पट्याउने’ वा ‘भ्याउने’ भन्ने शब्द सहज रूपमा प्रयोग गर्दछन् ।

यौनको सम्बन्धमा हाम्रो समाज पुरुषप्रति धेरै उदार छ । उनीहरूलाई कुनै प्रकारको श्लील-अश्लीलको ट्याग लाग्दैन । संवादको वातावरण र ‘सर्कल’ यत्रतत्र छ । यो सामाजिक पूँजीको कारणले पनि यौनको सवालमा पुरुषहरूलाई प्रधान हुन सघाएको हो ।

तर, हामी महिलालाई त्यति सहज छैन । हामी आफ्ना साथीहरूसँग पनि यौनका मामलामा त्यति उदार रूपले प्रस्तुत हुन सक्दैनौं । जिज्ञासा र द्विविधा पनि खुलेर छलफल गर्न सक्दैनौं । यौनमा जहिले पनि पुरुषले प्रस्ताव गर्ने हो ।

एउटी असल (समाजले असल भनेकी) महिलाले पुरुष अनुकूल भइदिनुपर्छ भन्ने हाम्रो सामाजिक रूपमा स्थापित मान्यता हो। जसको कारणले हामी महिलालाई भने सधैं खुम्च्याइरह्यो । यौनप्रति संकुचित बनाइरह्यो । हामीलाई अनुदार बनाएर यौनमा हाम्रो भूमिकालाई सधैं गौण बनाएकै छ आजसम्म पनि ।

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा २ ले ‘महिलालाई सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ’ भनेर मौलिक हकको रूपमा स्थापित गरेको छ । तर, हामी कति महिला आफ्नो श्रीमान्/पार्टनरलाई आज मलाई शारीरिक सम्बन्ध राख्न मन लाग्यो भन्छौं ? अथवा आफू तयार नहुँदा यौन सम्बन्धमा सहभागी हुन अनिच्छा जाहेर गर्छौं ? अथवा यौनजन्य गतिविधिमा समान सहभागिता जनाउँछौं ? वा यौनमा आनन्दको अनुभूति बराबर गर्छौं ? हामीले आफ्नो पार्टनरलाई प्रश्न गरौं । हामीले आफूलाई पनि प्रश्न गरौं ।

अहिलेसम्मको हाम्रो अनुभव र भोगाइले यौन पुरुषले माग्ने र महिलाले दिने चिज हो भनेर स्थापित गरेको छ । जबसम्म यौनलाई दिने र लिनेको कसीमा राखिन्छ, तबसम्म यौन सम्भोग हुनै सक्दैन । अनि महिला भोग्या हो भन्ने सवाल हाम्रा ओछ्यानले दिनहुँ पुष्टि गर्दै जान्छन् ।

डा. अनन्या मण्डलले सन २०१७ मा यौन र वैवाहिक चिकित्सा साथै महिलाहरूमा चरमोत्कर्ष, यौन आनन्द र यौनिक छुवाइसँग सम्बन्धित अनुभवहरूको मूल्यांकन का विषयमा एक अध्ययन गरेकी छन् । जसमा १०५५ जना १८ वर्ष माथिका संयुक्त राज्य अमेरिकाका महिला तथा किशोरी सहभागी थिए ।

उक्त अध्ययनमा सबै उमेर समूह, जात, वर्ग, आर्थिक र शैक्षिक अवस्थाका सहभागीहरू रहेका थिए । जस अनुसार, १८ प्रतिशतले योनीभित्र लिंग प्रवेश गराउँदा मात्र पनि चरमोत्कर्षमा पुग्ने गरेको बताए । त्यसैगरी ३६ प्रतिशतले चरमोत्कर्षमा पुग्न भंगाकुर (क्लिटोरिस) स्पर्शलाई लिए भने ३६ प्रतिशतले भंगाकुर (क्लिटोरिस) स्पर्श पश्चात् मात्र योनी भित्र लिंग प्रवेशले चरमोत्कर्षमा पुग्ने बताएका छन् ।

फाइल तस्बिर

बाँकिले ‘पेनिटेटिभ इन्टरकोर्ष’ ले चरमोत्कर्षमा पुगेको बहाना मात्र गर्ने गरेको बताएका छन् । अध्ययनमा सहभागीमध्ये ४१ प्रतिशत महिलाले आफ्नो पार्टनरबाट यौनिक छुवाइको अपेक्षा राख्ने गरेको उल्लेख छ ।

त्यस्तै, प्रो. ओस्मो कोन्टुलाले फिनल्याण्डको हेलसिन्कीमा एक अध्ययन गरे । उक्त अध्ययन ८ हजार महिलाको यौन अनुभव कस्तो छ भन्ने विषयमा केन्द्रित थियो । उक्त अध्ययनमा सहभागी ३५ वर्षभन्दा कम उमेर समूहका महिलाले पहिलो पटकको चरमोत्कर्ष हस्तमैथुनबाट प्राप्त गरेको उल्लेख छ भने ३५ प्रतिशतले यौन सम्बन्धबाट कहिल्यै पनि चरमोत्कर्षमा नपुगेको बताएका छन् ।

यसै सन्दर्भमा भारतमा भएको एक अध्ययनले पनि ७० प्रतिशत भारतीय महिला यौन सम्पर्कको अवस्थामा चरमोत्कर्षमा नपुग्ने उल्लेख गरेको छ । उक्त अध्ययन १००० जनामा गरिएको थियो । जसमा ५०.७ प्रतिशत महिलाले बिहानीको समयमा हुने यौनसम्बन्ध नरुचाउने बताएका छन् भने ३२.९ प्रतिशतले बिहानीको समयमा आफू शिथिल हुने भएकोले यौन सम्बन्धको लागि तयार नहुने बताएका छन् । तर, अध्ययनमा सामेल भएका ५१ प्रतिशत पुरुषले भने बिहानीको समयमा नियमित यौन सम्बन्ध राख्ने गरेको उल्लेख गरेका छन् ।

यी अध्ययनको सारबाट के स्पष्ट हुन्छ भने हामी विपरीत लिङ्गी व्यक्तिहरू बीचमा हुने यौन सम्बन्धमा भावनात्मक, शारीरिक, संवेगात्मक संलग्नता र यौनिक सुखानुभूति बीचमा ठूलो खाडल छ । यौनमा समानता हुन सबैभन्दा पहिला महिला आत्मनिर्भर, स्रोत माथिको समान पहुँच, आर्थिक रूपमा सबल र आत्मसम्मानपूर्ण जीवनयापन गरेको अवस्था पनि हुनुपर्दछ ।

हामी कति महिला आत्मसम्मानपूर्ण जीवन बाँचिरहेका छौं ? कति महिलाको आर्थिक स्रोत माथि समान पहुँच र निर्णयाधिकार छ ? यसले पनि हाम्रो ओछ्यानको सम्बन्धमा ‘हाईरार्की’ निर्धारण गर्दछ । हाम्रो जस्तो सबै तह र क्षेत्रमा महिलालाई दोस्रो दर्जामा ‘दर्ज’ गरिएको समाजमा यौनमा निरपेक्ष समानता खोज्नु जटिल छ ।

यस्तै कारणले गर्दा महिलाहरू आफ्ना श्रीमान् सँग सधैं विनयशील र अनुगृहीत हुनुपर्ने अवस्था छ । चाहे ओछ्यान होस् या अन्य पारिवारिक निर्णयका सवाल हुन् ।

एक जना पुरुष साथीसँगको संवादबाट थाहा पाएँ कि ‘सेक्सुवल इन्टरकोर्ष’ को बेला एक दिन श्रीमतीले अचानक सम्बन्ध ब्रेक गरिन् । किन यस्तो भयो भन्ने बुझ्ने धेरै प्रयास गरे, तर उनीबाट चित्तबुझ्दो उत्तर पाउन सकेनन् । उनको बुझाइ थियो कि यौनका लागि पार्टनरले पनि अगुवाइ लिनुपर्छ भन्ने विषयमा सधैं सजग बन्छु जस्तो लाग्थ्यो तर म जहिल्यै विफल बनेछु ।

श्रीमतीको यौनमा सन्तुष्टि/असन्तुष्टिहरू कस्तो छ ? उनको इच्छा/अनिच्छा केमा हुन्छ ? यस विषयमा हामी (श्रीमान्/श्रीमती) बीच खुलेर संवाद पनि हुँदैन । फेरि हाम्रा बाँकी अरू सबै खाले सम्बन्ध, संवाद र व्यवहार स्वस्थ छन् ! किन यस्तो हुन्छ ?

उसको यो घटनाले मलाई नराम्रोसँग चिमोट्यो । हुन पनि यो संरचनाले पुरुषलाई यतिसम्म बलियो बनाएछ कि, केही कुरामा पनि कमजोर हुने छुटै छैन । अनि ऊ जबर्जस्त बलियो बनिदिन्छ ।

समाजमा, घरमा, अफिसमा अनि ओछ्यानमा । उसलाई पनि त कमजोरी स्वीकार्ने, सुधार्ने र महसुस गर्ने मौका दिइनुपर्छ ।

हामी त्यो समाजलाई प्रतिनिधित्व गर्छौं जसले ‘मर्दका दश वटी’, ‘खुट्टा भए जुत्ता जत्ति पनि’ भन्ने सामाजिक भाष्यलाई आजसम्म पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपले मलजल गरिनै रहेको छ । धेरै जनासँग यौन सम्बन्ध स्थापित गर्ने महिलालाई ‘वेश्या’, ‘भालु’ जस्ता अपमानजनक शब्दावलीको प्रयोग गर्दा हामीलाई अलिकति पनि लज्जाबोध हुँदैन ।

यौन आधारभूत आवश्यकता हो । यसको विषयमा स्वस्थ संवाद, छलफल र विचार आदान-प्रदान हुनुपर्छ । साहित्य तथा विचार उत्पादन गर्ने ‘स्पेस’ र नयाँ-नयाँ वैचारिकी मथ्ने ठाउँमा यौनका बारेमा स्वस्थ बहस गरौं । जसले यस प्रकारका कुरीतिजन्य मान्यता र भाष्यहरू माथि धावा बोल्न सकोस् । परिवर्तन अंगीकार गर्न सकोस् । र, उक्त परिवर्तनका हरेक हिस्सामा महिलाको पनि हस्तक्षेपकारी भूमिका होस् । जसले हामीलाई यौनप्रतिको संकीर्णता भत्काउन अहम् बनाउनेछ । यो लेख अनलाइन खबरमा शोभा बजगाईंले लेखेकी छिन् ।

सलिना मोक्तानको नयाँ लोकदोहोरी एल्बम अर्चना स्यानतानको युट्युब च्यानलबाट हालै बजारमा आएको छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला: