हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको छ । यो घटना थियो शनिबार बिहानको । अन्य चारजनाको उपचार भइरहेको छ । अरु दुई जना फार्मर र प्रहरीको सुरक्षामा छन् भने एकजना बेपत्ता रहेको तेल अभिवस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । दूतावासले भने औपचारिक जानकारी गराएको छैन ।
गैरआवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार, हमासको आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी- ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया- ३ का आशीष चौधरी, दार्चुला लेकमा- ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन- ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, धनुषा सपाही- ६ का आनन्द साह, सुनसरी मधुवन- १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली- ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् ।
अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा- २ का विधान सेजवाल, दाङ दङ्गिशरण-३ का प्रवीण डाँगी, कैलाली टीकापुर- ९ का धनबहादुर चौधरी, गोरखा- ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त- ३ का विपिन जोशी छन् ।
सल्यान त्रिवेणी- १ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती- ४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् ।
१७ जना नेपाली विद्यार्थी रहेकाे सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मद्य्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाकाे मृत्यु भएकाे अध्यक्ष भण्डारीले बताए ।
प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस ) का रहेको बताइएको छ ।
इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् ।