पछिल्लो समय सामाजिक सञ्जाल टिकटक र युट्युबमा भेलुबाजेका नामले भाइरल प्युठानका मीनबहादुर बुढाको बिहिबार दिउँसो निधन भएको छ । निधनको कारण मृगौला फेल भएकोले हो कि भन्ने अनुमान लगाइएको छ ।सोमबार एक्कासी सास फेर्न गाह्रो भएपछि उनलाई प्युठान जिल्ला अस्पतालमा लगिएको र उपचारको क्रममा बिहिबार ११ बजेपछि मृत्यु भएको थियो । केही दिनअघि भेलुबाजे माथि एक महिलाले आक्रमण गरेको उनका ज्वाइँ हिमाल पुन मगरले बताएका छन् ।गत सोमबार भेलुबाजेकी छिमेकी टिकटक लाइभमा बस्दा भनाभन भएको थियो । भेलुबाजेलाई ती छिमेकी महिलाले निर्घात कुटपिट गरेको हिमालले आरोप लगाएका छन् ।
‘’मर्नुअघि भेलुबाजेको भनाई अनुसार ती महिलाले कुटेको दिन देखि बाजे बिरामी परे । केही खान नसक्ने भए । घटनाको समयमा बाजेको कमिज पनि च्यातिएर दुई टुक्रा भएको थियो । शरीरमा नीलडाम थियो । टिसर्ट पनि च्यातिएको थियो भन्नुभयो’’ हिमाल पुनले भनेका छन् ।ती महिला विरुद्ध हिमालले जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी पनि दिएका छन् । प्रहरीले भने पोस्टमार्टम रिर्पाेटका आधारमा अनुसन्धान अघि बढाउने बताएको हिमालको भनाइ छ ।
गत भदौमा श्रीमतीको मृत्यु भएपछि बेस्सरी रक्सीको लतमा फसेका भेलुबाजेलाई उपचारको लागि काठमाडौं ल्याइएको थियो ।स्वास्थ्यमा सुधार देखिएपछि पुन तिनी गाउँ फर्किएका थिए ।चार दिन यता खाना नखाएको थिएनन् र बिहीबार सास फेर्न समेत सकस भएपछि उनलाई जिल्ला अस्पतालमै राखिएको थियो । बिहीबार बिहान ११ अस्पताल पुर्याएका बाजेको दिउँसो निधन भएको हो । पछिल्लो समय सामाजिक सञ्जालका दर्शकले उनलाई हाँस्यव्यङ्ग्य कलाकारको रुपमा मान्दै आएका थिए ।