आइतबार पहाड र सोमबार तराईमा होली, सुरक्षा व्यवस्था मजबुत, जबर्जस्ती लोला हान्नेलाई कारवाही

काठमाडौंमा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइने भएकाले जिल्ला प्रहरी परिसर काठमाडौँले पनि ९० भन्दा बढी स्थानमा कडा चेकिङ
गर्ने भएको छ । प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरुका लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरेका छन् । जसका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको हो । भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गरिने तयारी छ । होली मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत अभियान थालिसकेको छ । होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन प्रहरी अनुरोध गर्दछ । नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गर्न भनिएको छ ।