साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई व्यथित काव्य सम्मान समर्पण गरेको छ । २०८० माघ २२ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गरेको हो । उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति तथा कवि बैरागी काँइला थिए । प्रमुख अतिथि काँइलाले अमेरिकाबाट आउनु भएका कवि शेखर ढुङ्गेललाई खाँदा लगाएर स्वागत सम्मान गरेका थिए ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित कार्यक्रममा सम्मानित कविहरुको परिचय कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले गरे ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, सम्मानित कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले आआफ्नो मन्तव्य राखे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि वैरागी काइँलाले सम्मानित तीनै कवि अहिलेका महत्त्वपूर्ण कवि भएको बताउँदै आगामी दिनमा तीनै कविको सक्रियता अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले तीन जना कविको आआफ्नै विशेषता र प्रवृत्ति भएको धारणा राखे ।उनले नेपाली कविताका क्षेत्रमा तीनैजनाको महत्त्वपूर्ण योगदान रहेको र मुकारूङका कवितामा बुद्धि पक्ष, कार्कीका कवितामा हृदय पक्ष र क्षेत्रीका कवितामा बुद्धि र हृदय दुवै पक्ष पाइने धारणा राखेका थिए ।
कार्यक्रममा संघका सदस्य चर्चित निबन्धकार युवराज नयाँघरेले अतिथिहरुलाई खदा लगाएर सम्मान गरे । संघका कार्यसमिति सदस्य डा. दामोदर पुडासैनीले स्वागत मन्तव्य राखे ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, प्रा. डा. गोविन्दमान सिंह कार्की, पवन आलोक, प्रद्युम्न जोशी, कृष्ण भूषाल, विक्रमभक्त जोशी, मनोज नेउपाने, मुरारि सिग्देल, ममता मृदुल, कल्पना खरेल, रन्जना निरौला, रमेश दाहाल, दिलीप अधिकारी, सरस्वती गौतम, मीन ब्रजाचार्य, भरत सुवेदी लगायत २ दर्जन बढी कविहरूको उपस्थिति रहेका थिए ।