संविधान पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सभामा उम्मेदवारी : सिटौला

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सभामा उम्मेदवारी दिएको बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनले बुधबार दिक्तेलको बीपी स्मृति भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधानको पूर्ण कार्यान्वयन गराउनका लागि आफू राष्ट्रिय सभामा उम्मेदवार बनेको बताएका हुन् ।
‘गणतन्त्र लगायतका वर्तमान व्यवस्थाको पक्षमा लड्ने कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका झलनाथ खनाल, माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवहरु सबै एकजुट भएर चुनावमा गठबन्धन गरेका छौं,’ नेता सिटौलाले भने, ‘यत्रो बलिदानी पूर्ण आन्दोलनबाट बनेको संविधान पूर्ण रुपले कार्यान्वयन भएको छैन, त्यसको कार्यान्वयनका लागि मैले उम्मेदवारी दिएको हुँ ।’

हिजोको द्वन्द्वको अवस्थालाई शान्तिमा परिणत गरेको र अब पनि जनताको अधिकार सुनिश्चित गर्ने नेता सिटौलाले बताए । ‘हिजोको द्वन्द्वको अवस्थालाई शान्ति कायम गर्‍यौं,’ सिटौलाले भने, ‘अबको अभिभारा भनेको जनताको अधिकार सुनिश्चित गर्ने हो ।’
सिटौलाले भने गणतन्त्रलगायत वर्तमान व्यवस्थाको पक्षमा लड्ने दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका नेताहरु एक ठाउँमा उभिएर राष्ट्रिय सभाको चुनावमा लागेका छौँ; कोशी प्रदेशमा जारी पहिचानको आन्दोलनलाई पनि वार्ताबाटै समाधान गर्नुपर्छ ।

कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष निर्मल राईलगायतले गठबन्धनका साझा उम्मेदवारलाई जिताउनु पर्ने धारणा राखे । राष्ट्रिय सभा चुनाव यही माघ ११ हुँदैछ।

कार्यक्रममा वाम–लोकतान्त्रिक गठबन्धनकै तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै उम्मेदवार बनेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य चम्पा कार्कीले जनताको अधिकार, संविधानको रक्षा, शान्ति प्रक्रियालाई पूरा गर्न लागि आफूहरुलाई उम्मेदवार बनाएको बताइन् ।
-डम्बरसिं राई