नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरे

ललितपुर । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरेको छ।
मन्त्रीको एकवर्षे प्रगति विवरणमा हवाई सुरक्षा अभिवृद्धि भएको, सम्पदा सरसफाइ अभियान प्रभावकारी बनाइएको, नेपाल तथा रुवान्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छ । स्वीट्जरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अघि बढाइएको छ ।

यसरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक वर्षमा एक सय एक काम गरेको बताएका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री किरातीले आफूले एक वर्षे कार्यकालमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास गरेको बताएका हुन् ।

“पद सम्हाल्दा धेरै चुनौती देखेको थिए । सुधारको प्रयास गरेको छु । अबको मुख्य काम नीतिगत र संरचनागत सुधार नै हो”, मन्त्री किरातीले भने;पद बहालीकै दिन माला खादा नलाउने र दुई देशबीचको सम्झौता हुने अवसरमा बाहेक विदेश नजाने घोषणा गरेका मन्त्री किरातीले स–साना कामबाट सकारात्मक सुधारको थालनी भएको उल्लेख गर्न पनि भ्याए ।
मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्सलाई गौरव गर्न लायक ध्वजाबाहक बनाउने आफ्नो अठोट निरन्तर रहेको उल्लेख गरे । निकै कमजोर अवस्थामा रहेको निगमको अवस्था सुधारेर निगमको धुमिलिएको शाखलाई उँचो बनाउन प्रयास आफूले गरेको उनले बताए।

निगमको संरचनागत सुधार र प्रतिस्पर्धी बजारमा व्यावसायिक फड्को मार्ने गरी केही कार्ययोजना अगाडि बढाइएको छ । निगमको आन्तरिक उडानका लागि तीन जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी जहाज भाडामा ल्याउने र क्षेत्रीय उडानका लागि साना जहाज पनि सोही प्रक्रियाबाट ल्याउने गरी काम सुरु गरिएको छ । वर्षौंदेखि ग्राउण्डेड चिनियाँ जहाजको बिक्रीका लागि बोलपत्र आह्वान गरिसकेको मन्त्रीको प्रगति विवरणमा उल्लेख रहेको उनको आसय थियो । यस्तै काठमाडौँबाट अष्ट्रेलियाको सहर सिड्नी उडानको अन्तिम चरणमा पुगेको र निगमको ऋणको साँवा र ब्याजबापतको करिब रु चार अर्ब किस्ता भुक्तानी गरिसकिएको उनले बताए ।

मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सक्रिय बनाई युरोपेली सङ्घ ९इयू० ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको बताए । इयूको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको मन्त्री किरातीको भनाइ रहेको छ ।

श्री पशुपतिनाथ हिन्दू विश्वविद्यालय, पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालयको अध्ययन अघि बढाइएको र पर्यटन विश्वविद्यालयको मस्यौदा तयार भइसकेको उनले जानकारी दिए । लुम्बिनीको तिलौराकोटलाई विश्वसूचीमा सूचीकृत गर्ने अन्तिम तयारी रहेको पनि मन्त्री किरातीले बताए ।

पुरानो गाउँको खोजी, नयाँ गन्तव्य प्रवद्र्धन, सम्पदा र संस्कृति संरक्षण तथा प्रवद्र्धनका काम अगाडि बढाइको उनको भनाइ छ । सरकारले घोषणा गरेको पर्यटन दशक कार्यान्वयनका लागि कार्यक्रम तय गरिएको छ । पर्यटन ऐन, संस्कृति ऐनलगायत नीतिगत सुधारका काम प्राथमिकताका साथ लैजाने मन्त्रालयद्वारा जनाइएको छ ।