नयाँ वर्षकै दिन सोमबार जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प , १३ जनाको मृत्यु

जापानमा गएको शक्तिशाली भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । सोमबार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।भूकम्पमा परी मंगलबार बिहानसम्म १३ जनाको मृत्यु भएको हो ।जापानी समाचार संस्था क्योदोले जनाए अनुसार भूकम्पबाट इशिकावा प्रान्तको वाजिमा सहर सबैभन्दा धेरै प्रभावित भएको छ । त्यहाँका सयौँ घर तथा भवनहरु भग्नावशेषमा परिणत भएका छन् ।उद्धार कार्य जारी छ । केही क्षेत्रमा अझै पनि आगो बलिरहेको छ । लगातारको पराकम्पन तथा सडकहरुमा भग्नावशेष रहेकाले भूकम्पपछि आगलागी भएका भवनहरुको आगो निभाउन समस्या भएको जापानी अधिकारीहरुले बताएका छन् । वाजिमा नगर अस्पतालमा मृत्यु भएकाहरुको सात शव पुष्टि भएको अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएकोमा मंगलबार बिहान त्यसलाई हटाइएको छ । सोमबार राति वाजिमा बन्दरगाहामा १.२ मिटर अग्लो समुद्री छालले हिर्काएको थियो । मंगलबार बिहान एनएजकेले प्रसारण गरेको भिडियो फुटेजमा वाजिमा सहरको केन्द्रमा रहेको सात तले भवनमा आगो बलिरहेको देखिएको थियो ।

भूकम्पका कारण ११ घण्टासम्म फसेको चार बलुटे ट्रेन आफ्नो स्टेसनमा पुगेको एनएचकेले जनाएको छ । बुलेट ट्रेनमा एक हजार चार सय यात्रु थिए । भूकम्पपछि सबै ट्रेनको सेवा रद्द गरिएको छ ।

कम्तिमा ८५ हजार जापानी सैनिक आपतकालीन अवस्थाका लागि तयार रहेको रक्षा मन्त्री मिनोरु किहाराले जानकारी दिए । जापानी सेनाले घरबार छोड्नेहरुका लागि खाद्य, खानेपानी र ओढ्ने आपूर्ति गरेको छ । नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्प गएको हो ।