बालकुमारी घटनाको छानबिन गरिने, मृतकका परिवारलाई १०,१० लाख दिइने

काठमाडौँ । शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा दुई जना युवकको ज्यान गएपछि गृह मन्त्रालयले घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई निलम्बन गरेको छ ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने पनि मन्त्रालयले निर्णय गरेको हो ।

त्यस्तै ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको मन्त्रालयले जानकारी दिएको छ । घटनाबारे छानबिन समिति गठन गरिएको र २ मृतकका परिवारलाई १०,१० लाखको दरले क्षतिपूर्ति दिइने पनि जनाइएको छ ।