ललितपुर ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा शुक्रबार आगजनी भएको छ । आगजनी पछि पाँच ,छ राउन्ड गोली चलेको थियो। ललितपुरको बालकुमारी आकासे पुल नजिकै करीब १२:२० तिर सो आगजनी भएको हो ।त्यसअघि नै इपीएस परीक्षा फारामको विषयलाई लिएर सडकमा प्रदर्शन गरेका प्रदर्शनकारीले यसपटक उतेजक तरिकाले प्रदर्शन गरेका थिए ।सवारी आवागमन अवरुद्ध गरेका प्रदर्शनकारीको आक्रोशित भीडले मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडीमाथि आगजनी गरेका हुन् ।
मन्त्री ज्वालाको सुरक्षाका लागि दुई जना पीएसओ खटिएका थिए। मन्त्री र दुवै जनाले गाडी छाडिसकेपछि गाडी आगजनी
भएको थियो। आगजनी अघि उत्तेजित समूहले गाडीको हावा फुस्काएका थिए । मन्त्री पनि प्रदर्शन भएकै क्षेत्रबाट निस्किए तर मन्त्रीमाथि कुनै अप्रिय घटना हुन पाएनन् ।
‘यो राम्रो संकेत होइन। यसले सुरक्षामा प्रश्न उठाएको छ,’ पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले शुक्रबारको घटनालाई लिएर प्रतिक्रिया दिएका छन् ।
मूल सडकमा प्रदर्शन चर्किरहँदा उक्त स्थानमा सुरक्षाकर्मी पुगेकै थिएनन्। आगलागीपछि मात्र प्रहरीको टोली हुररर उपस्थिति भएका थिए ।सडकमा तोडफोडमा उत्रिएका प्रदर्शनकारीले इट्टा प्रयो गरेका थिए। त्यसपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको थियो ।२३ वर्षीय सुजन राउतको उपचारको क्रममा मृत घोषित भए भने अर्का एकजना घाइते प्रदर्शनकारी बिरेन्द्र शाहको पनि उपचारको क्रममा दिउँसो नै निधन भएको थियो ।तर ती अर्का घाइतेलाई मृत घोषित गर्दा पुन तोडफोड होला भनेर सुरक्षाकर्मी पाटन अस्पतालकाको दक्षिण गेटमा पूर्ण तयारीमा रहेका थिए । अनाहकमा ज्यान गएका दुईमध्ये एकको ज्यान प्रहरीको गोलीबाटै भएको अनुमान गरिएको छ।
रोजगार अनुमति प्रणाली (इपीएस)को विषयलाई लिएर युवा प्रदर्शनमा उत्रिएका थिए। केही समय यता यसै विषयलाई लिएर असन्तुष्ट संगठित भइरहेका थिए। पटक पटक उनीहरूले इपीएसको कार्यालय अगाडि प्रदर्शन गरे । शुक्रबार तिनै प्रदर्शनकै अर्को उपक्रम थियो जसलाई सुरक्षा निकायले नजरअन्दाज गरेको प्रष्ट देखिन्छ। घटनाले के देखाउँछ भने यस विषयमा सुरक्षा निकाय सूचनाविहीन थियो। सूचना थियो भने पनि विषयको गम्भीरता वा सम्भावित जोखिमप्रति सचेत थिएन। ‘मब’को चरित्र नै कुनै पनि समय भड्किने हुन्छ। भयो पनि त्यस्तै। प्रहरी त्यतिखेरमात्र सचेत भयो जतिखेर स्थिति नियन्त्रण बाहिर पुगिसकेको थियो।
तत्काल हुने प्रदर्शन र त्यसले निम्त्याउन सक्ने असरबारे सुरक्षा आकलन गर्न नसक्दा बालकुमारीमा ठूलो क्षति हुन पुग्यो। मन्त्रीको गाडी काम नलाग्ने बन्यो त दुईको मृत्यु।
शुक्रबार मात्र यसखाले घटना भएको भने होइन। पछिल्लो समय बढ्दो असन्तोष र त्यसलाई उत्तेजित बनाउने शक्ति सक्रिय छन्। गत फागुन १ गत बालाजुमा यसैगरी ‘मब’ अनियन्त्रित हुँदा तोडफोड र लुटपाटसम्मका घटना भए। प्रहरीकै गाडीमा आगो दन्कियो। बालाजु क्षेत्रमा यातायात मजदुर संगठनले गरेको प्रदर्शन नियन्त्रणबाहिर हुँदा माछापोखरीमा प्रहरीका दुई वटा भ्यान जलाइए। प्रहरीको अस्थायी विट आगोको निसानामा पर्यो। प्रहरीले समयमा नै सूचना प्रवाह गर्न सकेन र त्यहाँको प्रहरी कमान्ड चुक्दा प्रहरीले नै क्षति बेहोर्यो। उक्त घटनाबाट प्रहरीले अलिकति पनि चेत राख्न सकेन – शुक्रबार बालकुमारीको घटनाले पुष्टि गरेको छ।
अप्रत्याशित रूपमा मन्त्रीको गाडी जलिसकेपछि सुरक्षा निकाय हतास-हतास नियन्त्रणमा लागेको प्रष्ट देखियो। सुरक्षाकर्मी तर्फबाट घटनास्थलमा हतार-हतार पुगेको टोलीको गोलीले युवकको ज्यान गयो। मध्य सडकमा बिहानैदेखि भेला भएको भीडप्रति नजरअन्दाजको परिणाम गृह मन्त्रालय नै आक्रोशको निसानामा परेको छ। प्रहरीले बल प्रयोग गर्दा केही व्यक्ति घाइते पनि भएका छन्। भीड नियन्त्रणका लागि प्रहरीले गर्नुपर्ने हवाई फायर हो तर अन्धाधुन्ध ६,७ राउन्ड गोली फायर भएको एक प्रत्यक्ष दर्शीले बताएपछि प्रश्न उठेको छ।
प्रहरीमा हतियार व्यवस्थापन र फायरिङको ‘प्रपर’ तालिम नहुँदा यसखाले परिस्थिति बन्ने गरेको पूर्वडिआइजी ठकुरी बताउँछन्।
‘यहाँ बजेटको अभावमा समय समयमा फायरिङको तालिम हुँदैन,’ ठकुरीले भने, ‘पुराना हतियारको अवस्था र अपग्रेड नभएको तालिमले यस्ता घटना हुने गरेको देखिन्छ ।
त्यसो त गाडी जलेको स्थान जहिले पनि ट्राफिक प्रहरीको सुरक्षा स्थान, चेकिङ स्थान हो त्यसले पनि सुरक्षा निकायको मनोवला नगर्ने स्थान रहेको मान्न सकिन्छ ।अन्य ठाउँमा भएको भए सुरक्षा निकायतर्फ पनि क्षति पुग्न सक्थ्यो ।
केहीदिन अघि देखिनै आन्दोलनकारीले फाट्टफुट्ट बिरोध गर्दै आइरहेका थिए ।उनीहरुले माग गरे अनुसार सबैले परीक्षा दिन पाउनु पर्छ भन्ने तर अदालतले १८ जना रिटवालाले मात्र परीक्षा दिन पाउने जुन निर्णय गर्यो त्यसै इष्युलाई लिएर सडक तातेको देखिन्छ ।अबको आन्दोलन इष्यु सम्पूर्ण प्रकिया पूरा गरेका हरुलाई पनि कोरियामा लैजान ढिलो गरिएको भन्दै फेरि बिरोध नचल्ला भन्न भने सकिदैन । इपिएसको मुख्य कार्यालय भैंसेपाटी र बालकुमारी रहेको जनाइएको छ ।एग्रिकल्चर,मेनु र सपिङमा अहिले कोरियाको कामदार बनेर नेपाली गइरहेका छन् । बालकुमारीको आन्दोलनपछि नेपाली कामदारसँगै भारतीय कामदार पनि कोरियामा जान थपिने हल्ला चलेको जानकारहरु बताउँछन् ।यस अघि भारतका कामदारलाई कोरियामा चासो दिइएको थिएन् ।
बालकुमारी सडकको अवस्था:
कोटेश्वर तर्फबाट गुडने सवारी, सातदोबाटोबाट गुडने, लगनखेल बाट ग्वार्को चोक निस्कने सवारी र इमाडोलबाट गुड्ने सवारीको जमघट स्थल हो । ग्वार्को चोकमा कुन दिशाबाट कति सवारी आइरहेको छ सायद चोकमा रहेको ट्राफिक प्रहरीलाई थाहा हुन्न जस्तो लाग्छ । कहिलेकाहिँ ग्वार्को चोक -इमाडोल कृष्ण मन्दिरसम्म जाम परेको देखिन्छ ।कहिले घन्टौं कोटेश्वर वा सातदोबाटो तिरबाट आउने सवारी साधनम लाममा बसिरहेको हुन्छ।अझ जाम खुलाउनु भन्दा सोही समयमा ट्राफिकले जामकै छेउमा सवारी स्पिड नापिरहेको पनि पाइन्छ । सवारी जाम हुनुमा ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभर कारण रहेको छ ।यो निर्माणाधीन अवस्थामा छ ।फागुन सम्म पनि सो निर्माणक कम्पनीले निर्माण पूरा गर्ने छाँट देखिन्न । यससँगै सवारीको वैकल्पिक बाटोले पनि खासै काम गरेको पाइँदैन् ।