ललितपुर इमाडोलकी १७ वर्षीया भूमिका राउत गेस्ट हाउसमा मृत , प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी

श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी १७ वर्षीया भूमिका राउत मृत फेला परेकी छिन् ।
प्रहरीले जनाए अनुसार सुन्धारास्थित एक गेस्ट हाउसमा युवती मृत फेला परेकी छन् ।यो घटना काठमाडौँ महानगरपालिका–११को हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुले अनुसार, १५ दिनदेखि राउत र उनका प्रेमी उक्त गेस्ट हाउसमा बसिरहेका थिए । तर दिनअघि उनीहरुसँग भएको पैसा सकिए पछि पैसा लिएर आउँछु भन्दै प्रेमी बाहिर निस्किएका थिए । पैसा लिएर सोमबार बिहान प्रेमिका बसेको होटलमा पुग्दा उनले ढोका नखोलेको र स्टाफ समेत बोलाएर भ्यान्टिलेसनबाट हेर्दा शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै प्रहरी वृत्त, जनसेवाको टोली पुगेर ढोका फोड्दा भूमिका मृत अवस्थामा भेटिएकी हुन् । नजिकै विषको बट्टा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

मंगलबार राउतको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएको छ । अहिले प्रहरीले प्रेमीलाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

युवतीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ भने युवतीको भिसेरा जाँच पनि गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।