पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वर्षौ भइसकेको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पूर्वाधार सम्पन्न पर्यटन गन्तव्य रहेकाले पर्यटकीय राजधानी घोषणाको माग गरिएको बताए ।
“पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले धेरै पहिलेदेखि नै उठाउँदै आएको माग हो यो, तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन”, उनले भने, “पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा यसले दूरगामी महत्त्व राख्छ।” पर्यटकीय गतिविधि, सहज पहुँच, पर्यटकीय सुविधा, जागरूक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ बताउँछन् ।
हिमाल र ताल तलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जीजम्प, केबलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन्। उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन्। तालतलैयाको सहरको उपमा पनि पोखरालाई दिइन्छ ।
फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन्। प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ। प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा। यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटक लोभ्याउने गर्छ। परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन्। साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ ।
पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टुराँ, कफी सप, बार, लाउन्ज बार, सभा-सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन्। हवाई र सडक दुवै मार्गबाट सहजरुपमा पोखरा आवतजावत गर्न सकिने सुविधा छ ।
पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ। पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोसाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त रहेका छन्। बैङ्क, एटिएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउन्टर उपलब्ध छन् ।
सङ्कटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्टर सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन्। पर्यटकको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक सङ्गठन क्रियाशील छन्। पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् ।
प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ। पर्यटनका यिनै प्रचुरताका कारण पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको हो। नेपाल आउने विदेशी हुन् या स्वदेशी पर्यटक कम्तीमा एकपटक पोखरा जान नै खोज्छन् । स्वदेशी अर्थात् आन्तरिक पर्यटक त एक पटक मात्र पोखरा पुगेर अघाउँदैनन् ।
कलेज या विद्यालयका विद्यार्थीको शैक्षिक भ्रमण होस् या अन्य विभिन्न सङ्घसंस्था या व्यक्तिको घुमघामको कार्यक्रम सबैभन्दा पहिलो रोजाइ पोखरा नै हुने गर्दछ। पोखराको पर्यटनसम्बन्धी एक अनुसन्धानका अनुसार नेपाल आएका कम्तीमा पनि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा आउने गर्दछन्। नेपालका ट्रेकिङ एजेन्टस् या पर्यटन व्यवसायीले आफ्ना पर्यटकलाई पोखरा लैजाने प्याकेज अनिवार्य बनाउन चाहेका हुन्छन्। नेपालमा आउने पर्यटकको बसाइ लम्ब्याउन पनि पोखरालाई भ्रमण गन्तव्यमा पार्नु जरुरी छ ।
त्यसैले पोखरालाई पर्यटनको राजधानी बनाउन यहाँका सरोकारवाला व्यवसायी, स्थानीय तह तथ्य प्रदेश सरकार नै लागेको हो। यस विषयमा अध्ययन जारी रहेकाले छिट्टै नै यस कार्यले पूर्णता पाउनेमा यहाँका पर्यटन व्यवसायीहरू विश्वस्त रहेका छन् । रासस