पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायको उधौली पर्व

आज किराँत समुदायले हर्षोल्लासका उधौली पर्व मनाउँदैछ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै आएका हुन् ।

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली पर्व धुमधामका साथ मनाउँछन् । आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँदै आएका छन्।

आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँदै आएका छन्। बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाउने चलन छ।

भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आआफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने पनि गर्दछन्।

बैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। जसलाई पर्यावरण अनुकूलताअनुरूपका कामका रूपमा समेत लिइने राईले बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिएको छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको छ। दुवै पर्वलाई किराँत समुदायले भव्यरुपमा स्थान विशेष रमाइलो गर्दै मनाउँछन्।

यो पनि पढ्नुहोस्:-

किराँत जातिले मनाउने उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। विभिन्‍न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्‍न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्‍भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो।
राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्‍नति र समृद्धि निर्भर रहन्छ। यस्ता मौलिक चाडपर्वहरूले नेपालीहरूबीच सामाजिक एकता, सद्‍भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ। नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ। २१ औं शताब्दीमा नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन र विश्‍वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो।

अन्त्यमा, यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षासहित किराँत समुदायलगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

१० पुस, २०८०