बलात्कारको आरोपमा प्रधानाध्यापक र विज्ञान शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा काभ्रेमा प्रधानाध्यापक र विज्ञान शिक्षक पक्राउ परेका छन्।

पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन् ।

उनीहरूलाई कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ गरिएको काभ्रे प्रहरीस्रोतले दाबी छ । सामाजिक सञ्जालमार्फत उनका साथीहरूले घटनाबारे थाहा पाएपछि नगरपालिकालाई खबर गरेका थिए। आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

दसैंतिहार बीचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर विज्ञान शिक्षक श्रेष्ठले बलात्कार गरेको तथ्य खुलेको छ।

प्रधानाध्यापकसहित अन्य शिक्षकले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक म्यासेज पठाउने गरेको देखिएको स्थानीय जनप्रतिनिधिले बताउँछन्।

पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रे राखिएको छ। पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोहीअनुसार प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।