इजरायलबाट २५३ जना विद्यार्थी बोकेर जहाज उड्यो, रातिसम्म नेपाल आइपुग्ने

इजरायलबाट २५३ जना नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज आज दिउँसो उडेको छ । इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको हो।

सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको जनाइएको छ।

परराष्ट्रमन्त्री एनपी साउद आफैँ उनीहरूलाई लिनका लागि इजरायल पुगेको बताइएको छ । इजरायल र गाजाबीचको युद्धका कारण कृषि क्षेत्रमा इन्टर गर्न पुगेका विद्यार्थीहरू स्वदेश फर्किंदै छन् ।
नेपाली विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री साउँदलाई इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेको बुझिएको छ ।

विद्यार्थी लिएर सो विमान आजै राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने खबर विभिन्न अनलाइन मिडियाले समाचार बनाएका छन् ।