सुन्दरबजार नगरपालिका–५, गहतेका ३५ वर्षीय गमबहादुर गुरुङको कोरियामा मृत्यु

दक्षिण कोरियाको फाजु क्षेत्रमा लमजुङको सुन्दरबजार नगरपालिका–५, गहतेका ३५ वर्षीय गमबहादुर गुरुङको मृत्यु भएको छ ।

गहतेस्थित कालिका युवा क्लबका पूर्वअध्यक्ष समेत रहेका गुरुङ गत साता सम्पन्न लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । उनको असोज १७ गते बुधबार निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले गमबहादुर गुरुङको रातिको काममा जानुअघि निधन भएको बुझिएको बताए । गमबहादुरले काम गर्ने ठाउँ फाजुस्थित कम्पनीमा गएर बुझ्दा उनको गत बुधबार राति ६ बजेतिर निधन भएको बुझिएको बताए ।

कम्पनीले वाइबालाई दिएको जानकारी अनुसार गमबहादुरसँग एक जना भियतनामी कामदार सँगै बस्दै आएका थिए । उनीहरु दुवै सँगसँगै काम गर्ने समय राति थियो । अध्यक्ष वाइबालाई ‘साहुनी’ ले दिएको जानकारी अनुसार बेलुकाको नियमित ड्युटी समय सुरु हुनु अगावै भियतनामी साथीले खाना खाएर गमबहादुरलाई जोडले बोलाएका थिए । तर उनमा कुनै हलचल नदेखिएको पाएपछि भियतनामी साथीले साहुसँग कुरा गरेर एम्बुलेन्स र प्रहरीलाई खबर गरेको कम्पनीकी साहुनीले जानकारी गराएको वाइबाले बताए ।

गमबहादुर गुरुङको निधनबारे नेपालमा घरपरिवारलाई जानकारी गराइसकेको र परिवारको निर्णय अनुसार शवलाई छिट्टै नेपाल पठाइने उनले बताए ।
-साभार हाम्रा खबर